एयर एसियाले तिर्यो २ करोड, अझै २१ करोड बाँकी



काठमाडौं – बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड रुपैयाँ बुझाएको छ ।

एयर एसिया एक्सले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण ल्यान्डिङ र विसान पार्किङ शुल्क, हवाई परिवहन सञ्चार परिवहन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि तिरेको थिएन ।

पछिल्लो पटक त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियासहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले अर्बौं बक्यौता चुक्ता नगरेको विषयमा छानबिन समिति गठन गरी बक्यौता असुलीमा काम गरेपछि वायुसेवा कम्पनीले रकम तिर्न थालेका हुन् ।

तर, एयर एसिया एक्लैले सबैभन्दा धेरै २३ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गरेको थिएन । उक्त रकम गत मंसिर १४ गतेसम्मको हो । जति ताकेता गर्दा पनि अटेर गरेपछि विमानस्थल व्यवस्थापनले एयर एसियाको नेपाल उडान बन्द गर्ने चेतावनीसहितको पत्र पठाएपछि बाध्य भएर सानो हिस्सा रकम तिरेको हो । एयर एसियाले हाल काठमाडौंका लागि सातामा पाँच उडान गर्दै आएको छ ।

‘बक्यौतावापतको २३ करोड रुपैयाँ पुस २३ भित्र चुक्ता गर्न एयर एसियाको काठमाडौं कार्यालय र मलेसियाको मुख्य कार्यालयमा पत्राचार गरे पनि दुई साताभन्दा बढी बेवास्ता गरे,’ विमानस्थलका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, ‘तर, आइतबार दिउँसो अकस्मात दुई करोड रुपैयाँ चुक्ता गर्यो र सोमबार थप १० करोड रुपैयाँ चुक्ता गर्ने जानकारी दियो ।’

किस्ताबन्दीमा चुक्ता गर्ने सिम्रिक र सौर्य एयरलाइन्सको प्रतिबद्धतापत्र ।

ती अधिकारीका अनुसार बक्यौता रकम एयर एसियाको मुख्यालयबाट आएको हो । बाँकी रकम पनि उतैबाट पठाइने जानकारी दिइएको छ । सोमबार ९पुस २४ गते० थप १० करोड चुक्ता गर्ने र बाँकी ११ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्दै जाने जानकारी दिएको छ ।

एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए इन्सेन्टिभ्स टुर्स एन्ड ट्राभल्स कम्पनी हो । यसका सञ्चालक हरिमान लामा ठूलो परिमाणको बक्यौता चुक्ता गर्नुपर्ने ताकेता सुरु भएपछि विमानस्थलको सम्पर्कमा छैनन् ।
बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनिएको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै उनीहरूबाट एक अर्ब ३५ करोड १५ लाख ३३ हजार रुपैयाँ उठाउन बाँकी छ ।
त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाइएको थियो । उसको जिएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । त्यसको जवाफ पनि दुई सातासम्म आएको थिएन ।

त्यसैगरी आन्तरिक वायुसेवातर्फ सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको सबैभन्दा धेरै बक्यौता रहेको छ । ती दुवैलाई पनि पुस २३ भित्र बक्यौता चुक्ता नगरे उडान रोक्ने चेतावनीपत्र पठाएपछि किस्ताबन्दीमा चुक्ता गर्ने प्रतिबद्धतापत्र सहितको योजना विमानस्थललाई पठाएका छन् ।

सम्बद्ध अधिकारीका अनुसार सिम्रिकले अब एक करोड ४० लाखहाराहारी तिर्न बाँकी छ । उसले पुस मसान्तभित्र १० लाख रुपैयाँ, आगामी माघमा ३० लाख, फागुनमा ३० लाख, चैतमा ३५ लाख, २०७५ वैशाखमा ३५ लाख र अन्तिम किस्ता जेठमा ३७ लाख तीन हजार दुई सय ३३ रुपैयाँ चुक्ता गर्ने प्रतिबद्धतापत्र पठाएको छ ।

त्यसैगरी गत मंसिर मसान्तभित्र ५० लाख रुपैयाँ चुक्ता गरेको सौर्य एयरलाइन्सले अब करिब साढे दुई करोड रुपैयाँ तिर्न बाँकी छ । उसले आगामी माघ सात मा एक करोड, माघ १७ मा ५० लाख, माघ २७ मा ५० लाख र फागुन ७ मा अन्तिम किस्तावापत ४७ लाख ८१ हजार सात सय ५३ रुपैयाँ चुक्ता गर्ने प्रतिबद्धतापत्र पठाएको छ ।

‘ठूलो परिमाणको बक्यौता उठाएपछि दोस्रो चरणमा सानो परिमाणको बक्यौता उठाउने पहल सुरु गर्छौं,’ ती अधिकारीले भने, ‘उनीहरूलाई पनि म्याद दिन्छौं र म्याद नाघे उडान रोक्ने चेतावनीसहितको पत्र पठाउँछौं ।’
नेपाल उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष

२०७३–७४ असार मसान्तसम्म एक अर्ब ९२ करोड दुई लाख ३३ हजार रुपैयाँ नतिरेको समाचार नागरिक दैनिकले मंसिर ७ गते प्रकाशित गरेको थियो । बक्यौताबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा छनबिन समिति समेत गठन भएको थियो । समितिले पुस पहिलो साता प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई प्रतिवेदन बुझाइसकेको छ ।

छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले जारी गरेको सार्वजनिक सूचनामा ‘बक्यौता रकम २०७४ मंसिर मसान्तभित्र चुक्ता गरी हिसाब राफसाफ÷मिलान गर्न र तोकिएको म्यादभित्र चुक्ता गरी हिसाब राफसाफ नगरे नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार असुलउपर गरिने’ उल्लेख थियो ।

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।

लामो समयदेखि विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय र उनको ‘टिम’ ले ठूलो परिमाणको बक्यौता उठाउन ताकेता नगरेपछि नागरिक उड्डयन प्राधिकरणले उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्