बैंक कर्मचारीहरुको बिदेसिने होड !



१४ माघ, काठमाडौं । उनले बैंकमा जागिर खाएको १६ वर्ष कट्यो । जागिर शुरु गर्दा सबैको जस्तै उनको पनि सोच थियो, एक दिन बैंकको प्रमुख कार्यकारी अधिकृतसम्म बनेर विश्राम लिने । तर, लगभग दुई दशक बित्न लाग्दा उनको जीवनको परिदृश्य फेरिएको छ ।

अहिले उनको हातमा क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड अर्थात् पीआर छ । अब बैंकमा उनको बसाइँ दुई महिना पनि नहुने छाँट छ । उनी अर्थात् दिपेश थापा (नाम परिवर्तन) नेपालको अग्रणी वाणिज्य बैंकमा काम गर्छन् ।

‘बैंकरको जागिर बाहिरबाट देख्नेलाई निकै राम्रो लाग्छ तर तलबले बाँच्न कठिन छ,’ थापा भन्छन् । बैंकले दिने बोनस र अन्य सुविधालगायत गरी थापाको वार्षिक तलब छ, १२ लाख ६० हजार रुपैयाँ । तर, मासिक हातमा पर्छ, करिब २५ हजार रुपैयाँ । कसरी ?

उनले हिसाब निकाले, ‘मैले आयकरवापत मात्रै अढाइ लाख रुपैयाँ सरकारलाई तिर्छु, ९० लाख रुपैयाँको घर कर्जा बैंकबाटै लिएको छु, वार्षिक व्याज र साँवाको किस्ता मात्रै पाँच लाख हाराहारी हुन्छ ।’

अझ, कार्यरत बैंकबाटै कर्जा लिएकामा सरकारले एक लाख थप कर लिन्छ, उनीबाट । बैंकबाट क्रेडिट कार्ड लिएका छन्, जसबाट वार्षिक एक लाख खर्च हुन्छ । यी सबै कटाउँदा हातमा बच्छ, मासिक २५ हजार ।

‘बैंक कर्मचारी परें, बालबच्चा राम्रै स्कुलमा पढाउनु पर्‍यो, बैंकले गाडी दिँदैन, अन्यत्र कर्जा गरेर किनेको छु, त्यसको साँवा व्याज तिर्नुपर्छ,’ उनले खर्चको फेहरिस्त लगाए, ‘घरायसी खर्च राम्रै हुनुपर्‍यो, खाजा रामै्र होटेल वा रेस्टुराँमा खानु पर्‍यो ।’ एउटी छोरी पढाउन मात्रै मासिक १३ हजार खर्च गरिरहेका छन्, उनले ।

उनको तलब भने कठै भन्ने किसिमको होइन । सम्भवतः नेपालमा राम्रो तलबमान हुने संस्थामा पर्छन्, बैंकहरु । तर, बैंकअनुसार तलब पनि फरक-फरक छ ।

अर्का बैंक कर्मचारी विपिन अधिकारी (नाम परिवर्तन)का अनुसार अहिले सबैभन्दा राम्रो तलब नबिल, माछापुच्छ्रे, एनआईसी एसियालगायत बैंकमा छ । सबैभन्दा कम तलबमान नयाँ वाणिज्य बैंकहरुमा छ ।

उनका अनुसार प्रशिक्षण अवधि समाप्तिपछि बैंकमा स्थायी जागिर पाउनेले शुरुमा २० देखि ३० हजारसम्म पाइरहेका छन् । सहायक अधिकृतको तलब सिभिल बैंकमा २० हजार, सिटिजन्स बैंकमा २५ हजार, माछापुच्छ्रे र एनआईसी एसियामा ३० हजार रुपैयाँ छ ।

त्यसभन्दा माथिल्ला तहमा बैंकअनुसार ६५ देखि ९० हजारसम्म हुने गरेको छ । उच्च व्यवस्थापनमा रहने प्रमुख कार्यकारी अधिकृतदेखि अन्यको तलब भने वार्षिक करोड र त्यसमाथि हुने गरेको बैंकहरुको वार्षिक वित्तीय विवरणबाट देखिन्छ । सनराइज बैंकमा २२ हजार पाँच सय रुपैयाँ छ ।

कर्मचारीले आफ्नै बैंकबाट घरकर्जा पाउने भनेको सेवा प्रवेश गरेको तीन वर्षपछि मात्रै हो । उनीहरुले पनि खरिद गर्ने घरको मूल्यको ६५ प्रतिशतबराबर मात्रै कर्जा पाउँछन् ।

यस्तो ऋण भुक्तानीको अवधि लगभग १३ देखि १४ वर्ष हुने गर्छ । कर्मचारीहरुलाई ऋण तिर्न सहज होस् भनेर बैंकहरुले त्यसलाई जीवन बीमा योजनासँग जोडिदिएका हुन्छन् । अर्थात्, मासिक किस्ता बीमा योजना खरिदमा पनि प्रयोग हुन्छ । यसको सम्पूर्ण लाभ कर्मचारीले नै पाउने हो ।

ऋण लिएको १३ देखि १५ वर्षपछि घर सम्बन्धित व्यक्तिका नाममा आउँछ । शुरुको मूल्य एक करोडभन्दा माथि रहने घर ती बैंक कर्मचारीको दीर्घकालीन सम्पत्ती नै हुने हो । तर पनि, अल्पकालीन खर्च व्यवस्थापन गर्न नसक्दा केही कर्मचारी जागिर छाडेर बिदेसिन्छन् ।

‘खर्च व्यवस्थापन गर्न गाह्रो छैन, अब कसैले आफ्नो जीवनशैली नै नाटकीय रुपमा परिवर्तन गर्न थाल्छ भने त समस्या हुन्छ नै, हामी सीईओलाई त समस्या पर्छ,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भन्छन् ।

यद्यपि, कर्मचारीहरुमा तलबले व्यवस्थापन गर्नै गाह्रो भएका कारण जागिर छाड्ने लर्को भने नलागेको केसीको दाबी छ ।

उनका अनुसार भर्खरै सेवा प्रवेश गरेकाहरुमा बिदेसिने चलन छ । तर, अधिकृत तहमा पुगेकाहरुमा त्यस्तो अवस्था छैन किनभने अधिकृत वा वरिष्ठ अधिकृतहरुको पदोन्नती भएपछि प्रबन्धक तहमा पुगिन्छ । उक्त पदमा बैंकले नै गाडीलगायत सुविधा दिन्छ । तलब पनि राम्रो हुन्छ र व्यवस्थापन सहज ।

थापा भने उनकै बैंकबाट एक वर्षयता १५ जनाले जागिर छाडेको र अधिकांश बिदेसिएको बताउँछन् । यो क्रम अन्य बैंकहरुमा पनि उस्तै दरमा रहेको उनको भनाइ छ । अधिकारी पनि केसीको भनाइमा सहमती जनाउँदै खर्च व्यवस्थापन धेरै ठूलो समस्या नभएको बताउँछन् ।

‘बैंक कर्मचारी भएपछि रातमा पार्टी जानैपर्ने, महँगो होटलमा खानैपर्ने, क्षमता नभए पनि गाडी चढ्नैपर्ने भन्ने सोच छ,’ अधिकारी भन्छन्, ‘त्यसैले खर्च व्यवस्थापनमा समस्या हुन्छ ।’

अधिकारीले पनि आफ्नै बैंकबाट कर्जा लिएर चाबहिलमा एक करोड १८ लाखमा घर लिएका छन् । आफ्नै साथीले बिदेसिनुअघि सस्तोमा बेचेको घर लिएका हुन्, उनले ।

जागिर छाड्ने कारणहरु
बैंकिङ क्षेत्र छाड्न सबैलाई खर्च व्यवस्थापन मात्र कारण बन्ने गरेको छैन । ‘हुन त, मेरो पनि सोच कम्तिमा बैंकको दोस्रो व्यक्ति प्रमुख सञ्चालन अधिकृतसम्म बन्ने थियो । तर, अब त्यो सपना त्यागेको छु र केही वर्षमा बैंकिङ जागिर पनि त्याग्छु,’ अधिकारी भन्छन् ।

बैंकमा पछिल्लो समय निकै दबाव बढेको उनको अनुभव छ । अहिले बैंकहरुमा बढेको गला रेट्ने प्रतिस्पर्धाले काममा दबाव पुगेको अनुभव पनि बैंक कर्मचारीहरुको छ । त्यसबाहेक व्यक्तिगत मूल्यांकन सही तरिकाले नहुने समस्या पनि बैंकमा देखिन थालेको उनी बताउँछन् ।

‘अहिले हाम्रो बैंकमा १५ सयभन्दा बढी कर्मचारी छन्, कसको क्षमता कति भनेर संस्थाले राम्रो मूल्यांकन नै गर्न पाएको छैन,’ अधिकारी भन्छन्, ‘र, बिनाकारण कर्मचारीलाई जागिरबाट निकालिने क्रम बढेको छ ।’

हुन त, कतिपय बैंकहरुमा तलबदेखि अन्य व्यवहार समान नहुने, नियुक्ति प्रक्रियादेखि नै आफू नजिकका मानिस भर्ना गर्नेलगायत समस्या रहेको कर्मचारीहरुको भनाइ छ । गैरसरकारी संस्थाजस्ता अन्य क्षेत्रमा कम दबावमा राम्रो तलब पाइने अवस्था रहेकाले पनि जागिर छाड्ने गरेको उनीहरु बताउँछन् ।

कतिपय भने विदेशमा राम्रो काम पाइने र सामाजिक सुरक्षाका कारण पनि बिदेसिने गरेको बताउँछन् ।

‘मैले यहाँ सरकारलाई वाषिर्क चार लाखसम्म आयकरलगायत तिरिरहेको हुन्छु तर यहाँ सामाजिक सुरक्षा छैन । पूर्वाधार गतिलो छैन यही कारण पनि बिदेसिने योजना बनाएको हु,’ थापा भन्छन् ।

कतिपय यस्ता बैंकर पनि छन्, जसले व्यावसायीहरुलाई कर्जा लिएर व्यावसाय विस्तार गर्न सिकाउँछन् । र, उनीहरु धनी भएको देखेर बैंकरहरु पनि आफैं व्यावसाय गर्ने हिसाबले बैंकको जागिर छाड्छन् । अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस्