भित्रियो चिनियाँ इन्टरनेट, तोडियो भारतीय एकाधिकार



२९ पुस २०७४

काठमाडौं : व्यावसायिक सम्झौता गरेको दुई वर्षमा नेपालमा चिनियाँ इन्टरनेट भित्रिएको छ । सन २०१६ को डिसेम्बरमा भएको व्यावसायिक सम्झौताअनुसार नेपालमा हङकङबाट इन्टरनेट भित्रिएको थियो । नेपालले व्यावसायिक सम्झौता गरेको दुई वर्षमा औपचारिक रूपमा चिनियाँ इन्टरनेट नेपाल भित्याउन सफल भएको टेलिकमको भनाइ छ ।

भारतबाट ल्याइरहेको इन्टरनेटको एकाधिकार तोड्ने गरी व्यावसायिक तबरबाट अप्टिकल फाइबरको लिंक जोड्न नेपाल शुक्रबार मात्रै सफल भएको नेपाल टेलिमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्। नेपाल र चीन सरकारबीच इन्टरनेट सञ्जाल विस्तार गर्ने गरी अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको १५ वर्ष बितिसकेको छ। नेपालमा चीनबाट भित्रिएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको शुक्रबार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे ।

तत्कालीन सरकारले सन २००३ को डिसेम्बरमै अप्टिकल फाइबर भित्याउने सम्झौता गरेको थियो । १५ वर्ष अगाडि नै खासा झाम्सुङदेखि अरनिको राजमार्ग हुँदै काठमाडौंसम्म इन्टरनेट ल्याउने उल्लेख थियो । १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी भएको उक्त सम्झौतालाई पुनः सन् २००८ को अगस्टमा दुई देशबीच आर्थिक तथा प्राविधिक सम्झौता गरियो । यो सम्झौता अनुसार तातोपानी नाका हुँदै नेपाल र चीनबीच इन्टरनेट जोडिने उल्लेख थियो । तर, २०७२ वैशाखमा गएको भूकम्पका कारण सो रुट पूर्णरूपमा क्षतिग्रस्त भएपछि नयाँ रुटको विकल्प खोजी रसुवागढी हुँदै इन्टरनेट नेपाल जोडिएको टेलिकमले जानकारी दिएको छ । नेपालमा चिनियाँ इन्टरनेट ल्याउने विषयमा नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच झाङमु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने समझदारी भने सन २०११ मा भएको थियो ।

नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलबाट इन्टरनेट ब्यान्डवीथ कनेक्सन ल्याएको हो । इन्टरनेट चलाउन चाहिने यस्तो ब्यान्डवीथ हाल भारतबाट मात्रै लिँदै आएको छ । चीनबाट जम्मा एक दशमलव पाँच जीबीपीएसको ब्यान्डवीथ भित्रिएको भए पनि भारतको विकल्प बनाउन सफल भएको राजभण्डारीले बताइन्। नेपालमा दुई दशक अघिदेखि भारतीय कम्पनीको इन्टरनेट भैरहवा, वीरगन्ज र विराटनगर हुँदै आएको छ । हाल टेलिकमले भारतीय कम्पनी टाटा, एयरटेल, बीएसएनएल र रिलायन्सबाट २५ जीबी प्रतिसेकेन्डमा इन्टरनेट भित्याएको छ। भारतबाट ल्याइएको इन्टरनेट भैरहवा, विराटनगर र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ । चीनबाट ल्याइएको इन्टरनेटको गति भने एक दशमलव पाँच जीबी प्रतिसेकेन्ड भोल्युमको छ । टेलिकमले यो इन्टरनेटलाई विकल्पको रूपमा मात्रै प्रयोग गरेको हो । यसलाई आगामी दिनमा बढाएर भारतीय बजारसँग प्रतिस्पर्धी  बनाउन सकिने छ ।

टेलिकमले यो इन्टरनेटलाई विकल्पको रूपमा मात्रै प्रयोग गरेको हो । यसलाई आगामी दिनमा बढाएर भारतीय बजारसँग प्रतिस्पर्धी बनाउन सकिने छ।

चीनबाट कम लागतमै इन्टरनेट आएको, भारतीयको तुलनामा लोट्रिप, डिले र अल्टरनेटिभ रूटसमेत हुन पुगेको टेलिकमले जानकारी दिएको छ । चिनियाँ इन्टरनेटको औपचारिक सुरुआत गर्दै सञ्चारमन्त्री बस्नेतले देशव्यापी रूपमा इन्टरनेट पूर्वाधार निर्माणमा नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक कोसेढुंगा सावित हुने बताए । उनले चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई बढाउन सकिने उल्लेख गरे । लिंक निर्माण गर्ने दुई देशको धेरै अघिदेखिको योजना भूकम्प र अन्य विभिन्न प्राकृतिक प्रकोपले ढिलो हुँदा निर्धारित समयमा आउन नसकको उनले बताए । उनले अब नेपालमा चिनियाँ रेल सञ्जाल विस्तार हुने बताए ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासमा दूरसञ्चार पूर्वाधार महत्वपूर्ण हुने बताए । नेपालका लागि चीनका राजदूत यु होङले यो लिंकले इन्टरनेट प्रयोगमा नेपाललाई विकल्प उपलब्ध भएको र यो रुट छोटो भएको पनि उनले दाबी गरे । उनले दुई देशबीचको व्यावसायिक सम्भावनालाई इन्टरनेट सञ्जालले थप नजिक ल्याउने औल्याए ।

राजभण्डारीले नेपाल टेलिकमले विगत एक सय वर्षयताको चाहनाअनुसार समय सान्दर्भिक सेवा उपलब्ध गराउन प्रयास गर्दै आएको बताइन् । उनले वायरलेसतर्फ फोरजी तथा वायरलाइनमा फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आबद्धताले ग्राकहको अपेच्छा पूरा गर्न थप सहज हुने बताइन् ।

चाइना टेलिकम ग्लोबलका मूख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई विश्व इन्टरनेट सञ्जालमा जोड्न प्रेरित गरेको बताए । योङलिनले चीन र हङकङ हुँदै युरोप, मध्यएसिया, उत्तरपूर्वी एसिया र अमेरिकासम्म जोड्न चिनियाँ इन्टरनेट महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा टेलिकको ब्याकबोन ट्रान्समिसन निर्देशनालयका प्रबन्धक संगिता पहारीले क्रसबोर्डर अप्टिकल फाइबर लिंकबारे आफ्नो प्रस्तुति राखेकी थिइन् । (साभार :अन्नपुर्ण पोष्ट)

प्रतिक्रिया दिनुहोस्