१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी



राजन गाउँले

२९ पुस २०७४

सिन्धुली : कमलामाई नगरपालिका ४ कडुलेकी चण्डीकादेवी देवकोटा १८ वर्षपछि पुनः आँखा देख्न थालेकी छन् । मोतिविन्दु भएर आँखाको ज्योति गुमाएकी देवकोटाको सिन्धुलीमाढीमा निशुल्क शल्यक्रिया गरिएपछि परिवारमा खुसी छाएको छ ।

लुगाको टाँक खुस्क्यो, तुनो छिन्यो तर बनाएर लगाउन सकिन, बाहिर भित्र गर्न अरुलाई गुहार्नु पर्थ्यो, अहिले देख्न थालेकी छु,’ खुसी व्यक्त गर्दै देवकोटाले भनिन् ।

कमलामाई नगरपालिका १३ माथिल्लो रानिवासका संजित माझी तीन वर्षदेखि मोतीविन्दुका कारण आँखा अलिअलि मात्र देख्थे । उनले शल्यक्रियापछि गुमेको आँखाको ज्योति पूर्णरुपमा फर्कने आशा व्यक्त गरे ।  देवकोटा र माझी जस्तै शिविरमा निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरेका सबैको अनुहारमा चमक देखिन्थ्यो । सिन्धुलीमाढीमा ३ दिन संचालित शिविरमा आँखा जचाउने ३ सय ९० थिए भने १ सय ३८ जनाले मोतीविन्दुको निःशुल्क शल्यक्रिया गराए ।

शिविर नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका, जानकी आँखा उपचार केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेशनको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्