माग्ने बुढाले दस लाख लिदा अनमोल निरास



काठमाडौँ, २६ पुस

चर्चित हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले महंगो पारिश्रमिकमा एउटा नयाँ फिल्म खेल्ने सम्झौता गरेका छन् । ‘छक्का पञ्जा’ टिमले बर्षको एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुक्का गरेपछि ‘माग्ने’ नयाँ फिल्म खेल्न तयार भएका हुन् । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ फिल्ममा कलाकार घिमिरे दश लाख पारिश्रमिक लिएर अभिनय गर्न तयार भएका हुन् ।

उनले लिएको यो पारिश्रमिक रकम नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको परिश्रमीकसँग बराबर हो भने अहिलेका चर्चित युवा स्टारहरु अनमोल केसी र प्रदीप खड्का पछि उच्च हो । आफुले साच्चै दश लाख रुपैया लिएर फिल्म खेल्ने सम्झौता गरेको पनि कलाकार घिमिरेले स्विकार गरे ।

पारिश्रमिक सँगै फिल्मको कथा मन परेर सुदर्शन र पुजासँग काम गर्न आफु तयार भएको केदारले खुलाए । ‘कथा राम्रो लाग्यो । फेरी सुदर्शन जीको फिल्ममा नयाँपन हुन्छ । सबै कुरा मिलेपछि फिल्म खेल्न राजी भएको हुँ ।’

‘डेढ लाखको आयकर तिर्ने गरी दश लाखमा उक्त्त फिल्म खेल्ने सम्झौता भएको हो’, कलाकार घिमिरेले भने, ‘सुरुमा मलाई उहाँहरुले चार लाख पच्चीस हजारको चेक दिनु भएको छ । बाँकी रकम सुटिङ सकिएपछि पाउँछु ।’ उनले पाउने दश लाख पारिश्रमिकमा डेढ लाख कर तिर्नु पर्ने हुन्छ । सुदर्शन र पुजाले बनाउने नयाँ फिल्मको छायाँकन माघदेखि सुरु हुनेछ । फिल्मको लागि नायक भने पक्का भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्