विदेशिएका नेपाली भन्छन्– अशान्तिको पुल भत्कियो, अब घर आउँछौँ



प्रिय परिवर्तन
मीठो सम्झना !

अहिले हामीलाई यो विदेशी भूमिमा तिम्रो अत्यधिक झझल्को आउन थालेको छ । यदि हामी हाम्रै धर्तीमा आफ्नै जन्मभूमिमा भएको बेला तिमी जन्मेको भए यो नर्क लोकमा आउनुपर्ने थिएन होला, सायद । तिमीले जुन सकारात्मकता र विकासका लागि जन्मिएर काम गर्न थाल्यौ, त्यो नै तिम्रो महानता हो । जसरी तिमीले कान्ति बाल अस्पतालमा ट्वाइलेट सफा गर्ने साहस देखायौ, जसरी खानेपानीमा अनुसन्धान गर्‍यौ । यस्तैगरी, अगाडि बढ्नु हाम्रो तर्फबाट लाखौैँलाख शुभकामना ।

अहिलेको जल्दोबल्दो, वाम गठबन्धनका शूत्राधार, कम्युनिस्ट एकताका विम्ब, राजनेता प्रचण्डले सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा भन्नुभएछ– “पुल भत्काएर यहाँ आएका छौँ, अब पछाडि फर्कने ठाउँ छैन ।”

मेरो प्यारो सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’ले उहाँलाई प्रेरणा दिनुभएका कुरा यहीँ बसेर सुन्न पाउँदा अत्यन्तै हर्षित छु ।

त्यस्तै, नेकपा एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभएछ– “अग्रज नेताहरू (एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि वामदेव गौतमसम्म)ले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेका दिन पूर्णाङ्क प्राप्त गर्नुहुनेछ । त्यसैले पार्टी एकता घोषणा गरेका दिन उहाँहरूले राजनीतिबाट सन्यास लिए हुन्छ ।”

त्यस्तै उहाँले नेपालको शान्तिप्रक्रिया र द्वन्द्व व्यवस्थापन विषय पढाउन विदेशका प्रतिष्ठित विश्वविद्यालयमा जानसमेत सुझाउनुभएछ ।

पार्टीका दोस्रो पुस्ताका नेताहरू देशको स्टेरिङ्गमा बस्न सक्ने तयार भइसकेको खबर सुन्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । उहाँको आँट र साहसले विदेशमा बस्ने हामी नेपाली अत्यन्त खुसी भएका छौँ ।

लाग्छ– चुनावपछि सिन्धुलीको जुनार रसिलो भएछ । र प्रकृति पनि फुरुङ्ग भइछन् ।

अशान्तिको पुल भत्किएसकेको र समृद्धिको राजमार्ग खडा हुँदै गर्दा हामी पनि आफ्नै देशमा फर्कन तत्पर छौँ । आफ्नै गाउँमा शान्तसँग बस्न र विकासको शूत्रपात गर्न फर्कंदैछौँ हामी ।

परिवर्तन ! तिमीसँगै बसेर काम गर्ने इच्छा छ । साथ दिन्छौ होला भन्ने आशा पनि छ । अझ धेरै पाठक बनाऊ, राम्रो काममा धेरै समय बिताऊ, गफ गर्नेको विज्ञापन गर्नुभन्दा काम गर्ने र हामी परदेशिएका जनताको सुख–दुःखको सूचनाबाट सस्तो श्रमका लागि विदेश जानुहुँदैन भन्ने जानकारी गराऊ ।

अहिलेलाई यो पत्रबाट बिदा हुन्छु । हवस् त धन्यवाद !

उही तिम्रा मित्रहरू
१.जमुना लिम्बु
२.मंगली तामाङ्ग
विदेशी भूमि कुवेत

प्रतिक्रिया दिनुहोस्