सडक सुधारले स्थानीय बासिन्दा खुशी



सिन्धुपाल्चोक, २३ पुस : बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा हुनुहुन्थ्यो ।

बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाँउमै कालोपत्रे सडक पुग्न लागेपछि अब दुःखका दिन गए भन्दै रमाउनुभयो । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर उकालो चढ्नुपथ्र्यो, आज कालोपत्रे सडकका लागि मन्त्रीज्यूले उद्घाटन गर्नुभयो,”– उहाँ भन्नुहुन्छ ।

यस्तै सोही गाउँकी ५० वर्षीय बच्चुदेवी तिमल्सेना पनि खुशी देखिनुहुन्थ्यो । “हाम्रा पालामा तीन घण्टा हिँडेर पढ्न जान परेको थियो, अब सडक आएपछि बसमा राखेर नातिनातिना पढाउन पाइने भयो,”– उहाँ भन्नुहुन्छ ।

यसैगरी ठोट्नेका ४१ वर्षीय रामलाल विश्वकर्मा श्रमदान गरेर बाटोको डोरेटो खोलेर कालोपत्रे हुन लागेकोमा निकै हर्षित हुनुहुन्थ्यो ।

बाह्रबिसे– ओमपार्क सडकको शुक्रबार शिलान्यास गरेसँगै बाह्रबिसे, ठोट्ने, रातामाटे हुँदै ओमपार्क क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ । कुल १४.२ किलोमिटर लम्बाइको उक्त सडक  रु ३३ करोड ३० लाखको लागतमा निर्माण हुन लागेको हो ।

निर्माणको जिम्मा पाएको जोइन्ट भेन्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले निर्माणमा कुनै बाधा व्यवधान नआए तोकिएको समयभन्दा चाँडो निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेपछि गाउँले झन खुशी भएका छन् ।

सोही क्षेत्रका निवर्तमान सांसद एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा उक्त सडकखण्डमा रकम विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्