अखिल क्रान्तिकारी र अनेरास्ववियुद्वारा विश्व निकेतन क्याम्पसमा वक्तित्वकला प्रतियोगिता सम्पन्न



काठमाडौँ,  १४ पुस : विद्यार्थीहरु भित्र रहेका प्रतिभाहरु प्रस्फुटन गराउने उद्देश्यले अखिल क्रान्तिकारी र अनेरास्ववियुद्वारा विश्व निकेतन क्याम्पसमा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रञ्जित तामाङ्ग र विशेष अतिथि अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नारायण घर्ति लगायत अन्य केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता रमन पहाडी र कार्यक्रम सञ्चालन पवन लम्सालले गरेका थिए ।

उक्त कार्यक्रममा केन्द्रिय विद्यार्थी नेताहरुले क्याम्पसको पढाई राम्रै रहेको र भौतिक अवस्था अत्यन्तै नाजुक भएकाले त्यसको सुधारका निम्ति सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने बताएका थिए । अबका भावि दिनहरुमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको विद्यार्थीहरु हातमा हात र साथमा साथ गर्दै अगाडी बढ्ने समेत बताएका थिए । सो कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस्ता रचनात्मक कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक/व्यक्तिगत विकासमा सहयोग पुग्ने हुनाले यस्ता प्रतियोगिताहरु क्याम्पसले आयोजना गर्नुपर्ने र कार्यक्रमलाई निरन्तर रुपमा अगाडि वढाउने कुरा क्याम्पस प्रशासनबाट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्