पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक



काठमाडौँ, २६ असोज : पत्रकार चेतनाथ आचार्यद्वारा लिखित संस्मरण ‘चीन चियाउँदा’ को बुधबार यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

चीनको रेडियो सिआरआइमा नेपाली भाषा विज्ञका रुपमा कार्यरत पत्रकार आचार्यको सो पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपालस्थित चिनियाँ दूतावासका अधिकृत ची क्वाङली र प्राज्ञ सुलोचना मानन्धरले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले आचार्यले एक सफल पत्रकार तथा विश्लेषकका रुपमा नेपाललाई चीनमा र चीनलाई नेपालमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुहुदै उहाँको यो पुस्तक चीनलाई चिन्न ज्यादै उपयोगी हुने विचार व्यक्त गर्नुभयो । उहाँले लेखकको शैली सरल तर रोचक रहेको पनि बताउनुभयो ।

नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष भट्टराईले पत्रकार आचार्यले पुस्तकमा चिनियाँ समाज र संस्कृतिका रोचक पक्ष उजागर गर्नुभएको बताउनुभयो ।

प्राज्ञ तथा नेपाल चीन महिला संघका उपाध्यक्ष सुलोचना मानन्धरले आफूले देखेको २५ वर्षमा चीन बेग्लै भएको र लेखकले चीनबारे जान्न चाहनेलाई धेरै सूचना उपलब्ध गराउनुभएको बताउनुभयो ।

चिनियाँ दूतावासका प्रेस तथा राजनीतिक विभाग प्रमूख ची क्वाङलीले नेपाल र चीन राम्रा साथी र छिमेकी भएको बताउँदै पुस्तकबाट चीनको शिक्षा, संस्कृतिबारे जानकारी प्राप्त गरी पाठक लाभान्वित हुने बताउनुभयो ।

इलाम नयाँबजारमा जन्मी हाल बेइजिङमा सिआरआइ रेडियोमा कार्यरत लेखक आचार्यले कुनै समय तिब्बतसँग नेपालको ७५ प्रतिशत व्यापार हुने गरेको बताउँदै हिमाललाई अवरोध मान्न नहुने बताउनुभयो ।

नेपाल–चीनबीच भाषागत कठिनाइ र केही सूचनाको भ्रम पनि रहेको बताउँदै हामीले तिब्बत भ्रमण गर्ने एक करोड चिनियाँमध्ये १० प्रतिशतमात्र पनि आकर्षित गर्नसके ठूलो लाभ हुने बताउनुभयो । हामी चीनलाई चिन्न पछि परेको र आफ्नो अनुभवका आधारमा लेखिएको यस पुस्तकले केही मात्रामा भए पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।

चीनको छातीमा नेपाली गौरवलगायत बीस शीर्षकमा प्रकाशित उक्त संस्मरणको मुल्य रु २५० रहेको छ भने पुस्तक सांग्रिला पुस्तक, काठमाडौँले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्