
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका केही स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ स्थित एक कुखुरा फार्ममा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो ।
नगरपालिकाको पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो, जसलाई एभियन पोक्ससमेत भनिन्छ । सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने र अण्डा उत्पादनमा कमी आउने लक्षण देखापर्ने उनले जानकारी दिए ।
उनका अनुसार केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वासप्रश्वासमा समस्या उत्पन्न हुने र मृत्युदरसमेत उच्च हुन सक्ने जोखिम रहन्छ । रोग देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले बताए । “यस्ता औषधि प्रयोग गर्दा कुखुराको रोगप्रतिरोधात्मक क्षमता बढ्ने र मृत्युदर घटाउन सहयोग पुग्छ,” उनले भने ।
अन्य कुखुरा फार्ममा रोग फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ । समयमै नियन्त्रण नगरिए किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ ।
पशुपन्छी शाखाले सङ्क्रमित कुखुरालाई अलग राख्न, फार्मको सरसफाइमा विशेष ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन किसानलाई आग्रह गरेको छ । साथै रोगको शङ्का लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ ।
फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने चिकित्सक पाण्डेयले स्पष्ट पारे । बाह्य क्षेत्रबाट कुखुराका चल्ला आयात गर्दा त्यसकै माध्यमबाट रोग भित्रिएको हुन सक्ने आशङ्का पनि गरिएको छ ।





