जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरुएक सयभन्दा बढी विद्यालयका ३५ सयभन्दा बढी खेलाडी सहभागी



काठमाडौं, पुस ३ गते ।
देशभरका एक सय सात विद्यालयका तीन हजार पाँच सयभन्दा बढी खेलाडीको सहभागितामा तेस्रो संस्करणको जेम्स थन्डरबोल्ट्स कप २०२५ बिहीबारदेखि जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।

प्रतियोगितामा समूहगततर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट समावेश छन् भने व्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस तथा ई–स्पोर्ट्सका प्रतिस्पर्धा हुँदैछन् ।

सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नारासहित जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्घाटन ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गरेका हुन् ।

उद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशक बरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल तथा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमारलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका विभिन्न खेलमा प्राप्त पदकका आधारमा समग्र विजेता टोली घोषणा गरिनेछ । प्रथम स्थान हासिल गर्ने विद्यालयले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

विद्यालयस्तरमा खेल संस्कृतिको विकास र आपसी सौहार्दता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरको प्रायोजन तथा फोटोनको समर्थनमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा मिडिया पार्टनरका रूपमा अन्नपूर्ण पोस्ट, हेल्थ पार्टनर नेपाल मेडिसिटी अस्पताल, मिडिया तथा ब्रोडकास्टिङ पार्टनर वान ओर एट, एडुमार्टलगायत विभिन्न प्रतिष्ठित संस्थाहरूको सहकार्य रहेको छ ।

प्रतियोगिता पुस ९ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्