नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी



काठमाडौँ । नेपालमै पहिलोपटक आयोजना गरिएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि आयोजक बिआइए इन्स्टिच्युटले जितेको छ।

बिहीबार काठमाडौँको बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बिआइए इन्स्टिच्युटले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ ले पराजित गर्दै उपाधि हात पारेको हो।

गोकर्णेश्वर नगरपालिका–५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न प्रतियोगिता नेपालमा ह्वीलचेयर रग्बी खेलको पहिलो औपचारिक प्रतिस्पर्धा हो।

विजेता टोलीले ट्रफी तथा मेडल प्राप्त गरेको छ। खेलाडीहरूलाई नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी, अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस, बिआइएका कार्यकारी निर्देशक गोकर्ण ढुंगाना तथा नेपाल स्पाइनल इन्जरी पुनर्स्थापनाका डा. राजु ढकाललगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा बिआइए इन्स्टिच्युटका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए। दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरेका छन्।

बिआइएका कप्तान तथा स्पोर्ट्स डिपार्टमेन्टका संयोजक दिलिप सापकोटाले लामो समयको प्रयासपछि ह्वीलचेयर रग्बी खेल सफलतापूर्वक आयोजना गर्न सकिएको बताए। उनले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई समाजसँग जोड्ने, घरबाहिर ल्याउने र खेलमार्फत समावेशी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे।

उनका अनुसार ह्वीलचेयर रग्बी केवल खेल मात्र नभई सामाजिक संवेदनशीलता र समावेशीकरणको प्रभावकारी माध्यम हो। “अब यो गतिविधि कुनै एक संस्थामा सीमित नराखी संगठित र निरन्तर रूपमा अघि बढाउन आवश्यक छ,” उनले भने।

नेपाल रग्बी संघसँग खेललाई निरन्तरता दिन आग्रह गर्दै सापकोटाले प्रशिक्षण तथा प्रतियोगिताहरू संस्थागत र विवादरहित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए। “अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले पनि खेलमार्फत राष्ट्र र समाजका लागि योगदान दिन सक्ने वातावरण निर्माण हुनुपर्छ,” उनले बताए।

बिआइए इन्स्टिच्युटले अपाङ्गता भएका व्यक्तिहरूको सीप अभिवृद्धि, क्षमता विकास तथा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्