
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी रु. ७५ करोड ६० लाखको आधारमा प्रति शेयर रु. १०० अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः०.६ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
यसअनुसार कम्पनीले रु. ४५ करोड ३६ लाख बराबरको प्रति शेयर रु. १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
हकप्रद शेयर निष्कासनसम्बन्धी सम्झौता आज पौष ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बसुन्धारा, काठमाडौंस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच सम्पन्न भएको हो । सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याउँदै कृषक र उपभोक्तालाई जोड्ने संस्थागत मूल्य शृंखला व्यवस्थापकका रूपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकका लागि आवश्यक उत्पादन सामग्रीको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योग विकास तथा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आएको छ ।
त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्कासन तथा बिक्री प्रबन्धनसम्बन्धी अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था रूपमा सेवा प्रदान गर्दै आएको छ ।





