१५औँ आईओएफटिसी तेक्वान्दो च्याम्पियनसिप सुरु



काठमाडौं, पुस ३ गते ।
१५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) बिहीबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बोर्ड ब्रेकिङ विधामा २२ स्वर्ण पदकको टुंगो लागेको छ ।

आईओएफटिसी नेपालको आयोजनामा भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक छ स्वर्ण पदक जितेको छ । १५–१७ वर्ष तौल समूहअन्तर्गत पुरुषतर्फ अनिल तामाङ र महिलातर्फ सलिना कार्की विजेता बने ।

अन्य स्वर्ण विजेतामा नारायणलाल कर्ण (५० वर्षमाथि कलर), रितन श्रेष्ठ (१२–१४ वर्ष कलर), मिङमा तामाङ (१२–१४ वर्ष पहेँलो बेल्ट) र सुप्रिम पुडासैनी (१२–१४ वर्ष ब्ल्याक बेल्ट) रहेका छन् ।

अमेरिकाकी निभा महर्जन आठ वर्षमुनि रेड बेल्टतर्फ च्याम्पियन बनिन् । १८–३२ वर्ष महिला वर्गमा अमेरिकाकी इडी क्वान र पुरुषतर्फ चन्द्रागिरी तेक्वान्दो डोजाङका उद्धव पौडेल विजेता भए । ३२–४९ वर्ष समूहमा एनआरएनए मलेसियाका गणेशबहादुर खड्का तथा ५० वर्षमाथि ब्ल्याक बेल्टतर्फ सहदेव श्रेष्ठ विजेता बने ।

प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार क्यारुगी र पुम्से विधामा थप दुई सय स्वर्ण, दुई सय रजत र चार सय कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्