
काठमाडौं ।
रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौँ एसियन युथ पारा खेलकुदअन्तर्गत तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । सोही अवसरमा उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ ।
रिभेराको स्पोर्टस् मिटको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक तथा ओलम्पियन दीपक विष्ट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र भट्टराई, सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा प्रिन्सिपल प्रज्ज्वल कोइरालाले सम्मान प्रदान गरेका हुन् ।
रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ सम्म आयोजित एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरी अन्तर्गत ४७ केजीमुनि महिला तौल समूहमा कास्य पदक जितेकी थिइन् । यसअघि उनले १३औँ कोरियन एम्बेस्डर इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपमा स्वर्ण पदक पनि जितेकी छन् ।
रेनु र प्रशिक्षक नेगी हाल राखेपद्वारा सञ्चालन भइरहेको ‘मिसन–२०२६’ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी छन् ।





