
काठमाडौं, पुस ३ गते ।
धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्म दौडने तयारी गरेका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गते गोदावरी नगरपालिका–१, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट दौड प्रारम्भ गर्ने छन् ।
करिब ४ सय ५० किलोमिटर दूरी उनले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने लक्ष्य लिएका छन् । दौडको रुट अवलोकनका लागि कार्की पूर्व खेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

कार्कीले दौडको उद्देश्य हनुमान मन्दिरमा निर्माण गरिने २७ फिट अग्लो पित्तलको गदाका लागि सहयोग संकलन रहेको बताए । उक्त हनुमान मन्दिर पनि कार्की आफैंले निर्माण गरेका हुन् ।
यसअघि कार्कीले ललितपुर–जनकपुर पाँच पटक, काठमाडौं–दोलखा तीन पटक, काठमाडौं–बुटवल एक पटक, काठमाडौं–सिन्धुली तीन पटक तथा काठमाडौं–उत्तरप्रदेश एक पटक दौड पूरा गरिसकेका छन् । साथै, उनले काठमाडौं हुँदै भारतको पश्चिम बंगालबाट भुटानको सिमाना फुन्सिलिङसम्म पनि दौड गरेका छन् । कार्कीले विसं २०६४ मा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ वटै जिल्ला दौडेर पूरा गरेका थिए ।





