तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन



तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादन हुने सुन्तलाको उत्पादन तथा बिक्रीसम्बन्धी विवरण सङ्कलन सुरु गरेको छ । व्यावसायिक रूपमा सुन्तलाखेती भइरहेका क्षेत्रहरूमा स्थलगत अनुगमन गर्दै उत्पादन, बजारीकरण, समस्या र सम्भावित समाधानबारे तथ्याङ्क सङ्कलन गरिएको हो ।

कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार सुन्तला बगैँचाको अवलोकनसँगै किसानलाई देखिएका समस्याबारे जानकारी लिने र समाधानका उपाय सुझाउने कार्य पनि सँगसँगै भइरहेको छ । तनहुँबाट वार्षिक रूपमा करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुँदै आएको छ ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । बेनीकोटका किसान दलबहादुर थापाले पछिल्ला केही वर्षदेखि सुन्तलाका बोट सुक्दै जाने समस्या देखिन थालेको बताए । उनका अनुसार बेनीकोट क्षेत्रबाट मात्र यस वर्ष हालसम्म दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला बिक्री भइसकेको छ । उक्त क्षेत्रमा १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।

कार्यालयका तथ्याङ्कअनुसार अघिल्लो वर्ष जिल्लाबाट ४२ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । सो वर्ष एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकोमध्ये ९६८ हेक्टर क्षेत्रफलबाट पाँच हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा करिब ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । सो अवधिमा तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लाभित्र आठ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको छ । कृषि विकास कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापन, प्राविधिक सल्लाह तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्