
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । गणनाका लागि पुस १ र २ गते तालिम प्राप्त गरेका १५० जना गणकहरू आजदेखि विभिन्न कार्यक्षेत्रमा परिचालन भएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रसम्म गणकहरू खटिएका छन् । पहिलो चरणअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिने छ । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिने उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै सूचना अधिकारी मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए । उनका अनुसार प्रत्येक भागमा दुई–दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा कुल ९५८ वटा ग्रिड बनाइनेछ, जसअनुसार दुई वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानी गणना गरिने उनले स्पष्ट पारे ।
यससँगै बाघ पाइने बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि समानान्तर रूपमा बाघ गणना भइरहेको छ । करिब तीन महिनाको अवधिमा सम्पन्न हुने यो गणना हरेक चार–चार वर्षमा गरिँदै आएको छ । गणनामा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी तथा संरक्षण साझेदारहरूको सहभागिता रहेको छ ।
ग्रिडहरूको बीचभागमा पर्ने स्थानमा प्राविधिक क्याम्प (शिविर) स्थापना गरी गणकहरूको बसोबासको व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोलअनुसार आठदेखि १२ वटा ग्रिडमा राखिएका क्यामेराको दैनिक अनुगमन गर्नेछन् ।
क्यामेरा संकलनपछि अध्ययन सुरु गरिने जनाउँदै सूचना अधिकारी मगरले बाघको आवतजावत बढी हुने स्थानमा स्वचालित क्यामेरा राखिने बताए । ती क्यामेराले खिचेका तस्बिरका आधारमा बाघको शरीरमा रहेका पाटाको बनावट हेरी संख्या पहिचान गरिनेछ । प्रत्येक बाघको पाटा फरक–फरक हुने भएकाले यसले सही गणनामा सहयोग पुग्ने उनको भनाइ छ ।
बाघ गणनालाई तीन वटा कम्प्लेक्समा विभाजन गरिएको छ । पहिलो कम्प्लेक्स चितवन–पर्सा ब्लक, दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज (तीन ब्लकमा विभाजन) र तेस्रो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझण्डी क्षेत्रलाई समेटेर एउटै ब्लक बनाइने छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनाअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।
बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारीसमेत गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष बजेट अभावका कारण गैँडा गणना स्थगित गरिएको थियो ।





