
बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले लामो समयपछि नेपाली नागरिकता प्राप्त गरेका छन्।
नागरिकताबाट वञ्चित रहेको विषय सञ्चारमाध्यममा प्रकाशित भएपछि बागलुङ नगरपालिकाको पहलमा कार्यपालिकाबाट निर्णय गराई जिल्ला प्रशासन कार्यालयमार्फत उनलाई नागरिकता दिलाइएको हो। नाम र जन्मस्थान टुङ्गो नलागेका उनी स्थानीयस्तरमा ‘धान्द्रुके बाजे’ उपनामले चिनिँदै आएका थिए।
नागरिकता प्राप्त गरेसँगै उनले पहिलोपटक आठ हजार रुपैयाँ वृद्धभत्ता समेत पाएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ। नागरिकता नहुँदा उनी राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तालगायतका सुविधाबाट वञ्चित हुँदै आएका थिए।
लामो समयदेखि भकुण्डेमा बस्दै आएका ती वृद्ध बोल्न नसक्ने तथा परिवारको कुनै सम्पर्क नहुँदा पहिचानविहीन अवस्थामा थिए। नगरपालिकाको कार्यपालिकाले निर्णय गरेपछि संरक्षक तोकी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रदान गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए।
सानै उमेरमा भकुण्डे आएका उनी बोल्न नसक्ने भएकाले गाउँलेले ‘धान्द्रुके बाजे’ भनेर सम्बोधन गर्ने गरेको र हाल नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिइएको खड्काले बताए।
बाँसका सामग्री बनाउँदै जीवन निर्वाह गर्दै आएका उनको जीवनको उत्तरार्धमा चन्द्रबहादुर थापा नाममा नागरिकता प्रदान गरिएको हो।





