
बाँके । धेरैजसो मानिस अवकाशपछिको जीवनलाई आराम र निष्क्रियतासँग जोड्छन् । तर बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् सक्रिय र कर्मशील जीवन रोजेका छन् । नेपाली सेनाबाट अवकाश पाएपछि पेन्सनमै सीमित हुन नचाहेका खत्रीले समयलाई उत्पादक काममा लगाउँदै मौरीपालन व्यवसायबाट उल्लेखनीय आम्दानी गरिरहेका छन् ।
चार वर्षअघि २५ घार मौरीबाट सुरु गरेको उनको व्यवसायिक यात्राले आज उनलाई अवकाशप्राप्त सैनिकभन्दा पनि सफल व्यवसायीको पहिचान दिएको छ । हाल उनको व्यवसायबाट वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी भइरहेको छ, जसले उनलाई आत्मनिर्भर बनाएको छ ।
‘बागेश्वरी मौरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग अहिले १११ घार मौरी छन् । व्यवसायमा उनकी श्रीमती मेनका डाँगी खत्रीको समेत सक्रिय साथ छ । दम्पती अहिले कार्तिके मह काढ्ने र बिक्री गर्ने चटारोमा छन् । यस फार्मबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने खत्री बताउँछन् ।
“बजारको कुनै चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ,” खत्रीले भने, “तोरीको कार्तिके मह प्रतिकिलो ५०० रुपैयाँ र जङ्गली मह ७५० रुपैयाँमा थोकमा बिक्री गरिरहेका छौँ ।”
मौरीपालन सजिलो देखिए पनि यसको चुनौती कम नभएको खत्रीको अनुभव छ । उनले मौसमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न स्थानमा, मङ्सिरपछि बर्दियाको बढैयाताल र राजापुर क्षेत्रमा तथा अत्यधिक चिसो र हुस्सुबाट जोगाउन पुनः दाङतर्फ लैजाने गरेका छन् । जङ्गली महका लागि सिसौको रस बढैयातालको भदै क्षेत्रमा र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरी चराउने गरिएको उनले जानकारी दिए ।
“मह काढ्नु मात्र मुख्य कुरा होइन,” खत्री भन्छन्, “वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउनु ठूलो चुनौती हो । तर एक सय घार मौरी राम्रोसँग व्यवस्थापन गर्न सके मासिक एक लाख रुपैयाँसम्म आम्दानी सम्भव छ ।”
यस व्यवसायले खत्री परिवारलाई मात्र होइन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । मह काढ्ने समयमा ११ जना र ढुवानीका बेला चार जनाले रोजगारी पाउने गरेका छन् । आगामी दिनमा व्यवसायलाई थप व्यवस्थित गर्दै आम्दानी र रोजगारी दुवै बढाउने योजना रहेको खत्रीले बताए ।
“मेरो व्यवसायबाट परिवारसँगै स्थानीयले पनि लाभ पाइरहेका छन्,” उनले आत्मविश्वासका साथ भने, “त्यसैले यसलाई विस्तार गर्ने लक्ष्य लिएको छु । हाल २५० घार पुर्याउने तयारीका साथ व्यवस्थापन गरिरहेको छु ।”





