
काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित होटल समूह लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ ।
बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विलास पवारले सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्मा, प्रमुख कार्यकारी अधिकृत डा. रोमनमान श्रेष्ठ, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा लगायत सहभागीले उक्त सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब ‘लेमन ट्री होटल्स’ ब्राण्डअन्तर्गत सञ्चालनमा आउनेछ । यससँगै होटल व्यवस्थापन, ब्राण्ड पहिचान, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा विस्तार, गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा विश्वव्यापी आरक्षण प्रणालीमा पहुँच सुनिश्चित हुने जनाइएको छ । यसले लगानीकर्ताको विश्वास बढाउने र बजारमा कम्पनीको विश्वसनीयता थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।





