विद्यालयको जीर्ण भवनमा बसेको प्रहरी चौकी १४ वर्षपछि आफ्नै भवनमा स्थानान्तरण



खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा निर्माण गरिएको प्रहरी चौकीको नयाँ भवन सञ्चालनमा आएको छ । चौध वर्षदेखि विद्यालयको जीर्ण भवनबाट सेवा दिँदै आएको वाप्लुखा प्रहरी चौकी अब आफ्नै चारकोठे ट्रस भवनमा स्थानान्तरण भएको हो ।

कोशी प्रदेश सरकारको रु २५ लाख लागतमा निर्माण गरिएको उक्त भवन हाल सञ्चालनमा ल्याइएको छ । साथै, चालु आर्थिक वर्षमा पनि सोही प्रहरी चौकीका लागि कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट थप रु २५ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटबाट प्रहरी चौकीका लागि आवश्यक शौचालय र भान्छा घर निर्माण गरिने तयारी भइरहेको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि विसं २०५४ मा वाप्लुखाको कानढाकामा सामान्य भवन निर्माण गरी प्रहरी चौकी स्थापना गरिएको थियो । तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सशस्त्र द्वन्द्वका क्रममा विसं २०५७ चैतमा चौकी जलेर ध्वस्त भएपछि विसं २०६८ मा पुनः स्थापना गरिएको थियो ।

पुनःस्थापनापछि आफ्नै भवन नहुँदा प्रहरी चौकीलाई वाप्लुखाको महाकन्य आधारभूत विद्यालयको खाली भवनका दुई कोठामा सारिएको थियो । विद्यालय नयाँ स्थानमा स्थानान्तरण भएपछि खाली भएको उक्त भवन अभिभावकको छलफलअनुसार प्रयोगविहीन बनेको थियो । द्वन्द्वकालमा विस्थापित भएको प्रहरी चौकी सोही विद्यालय भवनमा राखिएको स्थानीयवासी तथा नेकपा खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले बताए ।

विद्यालयको पुरानो भवन साँघुरो र अँध्यारो भएकाले दिउँसोसमेत बत्ती बाल्नुपर्ने अवस्था थियो । विसं २०७२ को भूकम्पका कारण भवन चर्किएर चिरा परेको, वर्षात्को समयमा छाना चुहिने तथा एउटा कोठा भासिएको अवस्थामा रहेकाले प्रहरीलाई काम गर्न कठिनाइ हुँदै आएको थियो ।

अब भने नयाँ भवन निर्माण भएसँगै ती समस्या अन्त्य भएका छन् । कोशी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको चारकोठे ट्रस भवनमा कार्यालय, ब्यारेक र हिरासत सञ्चालन गरिएको प्रहरीले जनाएको छ । नयाँ भवनबाट सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्रहरी चौकीको नवनिर्मित भवनको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले प्रदेश सरकारले सुरक्षा, सेवा र पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ तीव्रता दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्