वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्रै सम्भव : प्रचण्ड



महोत्तरी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखिएको वर्तमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभा निर्वाचनबाट मात्रै सम्भव हुने बताएका छन्।

महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित स्वर्गीय नेता काशी महतोको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र निकासका लागि निर्वाचन अपरिहार्य भइसकेको उल्लेख गरे। संयोजक दाहालले पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्वाचनको तयारीमा सक्रिय रूपमा जुट्न निर्देशनसमेत दिए।

“देशलाई स्थिरता र स्पष्ट निकास दिन अब चुनावको तयारी अनिवार्य भइसकेको छ,” उनले भने, “निर्वाचन हुने कुरामा कुनै पनि प्रकारको सन्देह गर्नुपर्ने अवस्था छैन।”

सोही कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय नेता काशी महतो सबैका लागि प्रेरणाका स्रोत भएको बताए। उनले जनकपुरमा आयोजना गरिएको एकता सन्देश सभामा नेता महतोले पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे।

स्वर्गीय नेता काशी महतोको गत मङ्सिर २२ गते हृदयघातका कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्