देशको विकास श्रम संस्कृतिमै निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ



धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान र श्रम संस्कृतिको प्रवर्द्धनबिना देशको दिगो विकास सम्भव नहुने बताएका छन्।

श्रम संस्कृति पार्टी धरान नगर समितिद्वारा आयोजित सवारी चालक तथा मजदुर सम्मान एवं अभिनन्दन कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले कामलाई सानो–ठूलो भनेर हेर्ने सोचकै कारण देशले अपेक्षित विकास गर्न नसकेको उल्लेख गरे। उनले भने, “काम सानो वा ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ। श्रमिकको सम्मान नगरेसम्म देशले सोचेअनुसारको विकास हासिल गर्न सक्दैन। श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ।”

नेपाली समाजमा श्रमप्रति रहेको नकारात्मक दृष्टिकोणप्रति आलोचना गर्दै उनले श्रमिकको सम्मानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताए। “कामलाई सानो ठान्ने प्रवृत्तिकै कारण देश पछाडि परेको छ। श्रमिकलाई अपमान गर्न हुँदैन, सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ,” उनले भने, “आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ। विकास र निकास श्रम संस्कृतिबाट मात्र सम्भव छ।”

अध्यक्ष साम्पाङले श्रमिकको परिभाषा स्पष्ट गर्दै श्रम भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर गर्ने काम मात्र नभएको बताए। “शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै व्यक्ति श्रमिक हुन्। हामी सबै कुनै न कुनै रूपमा श्रमिक हौँ,” उनले थपे, “श्रमिकको सम्मानले मात्र समाज र राष्ट्रलाई अगाडि बढाउन सकिन्छ।”

कार्यक्रममा सवारी चालक, मजदुर, विभिन्न सामाजिक सङ्घसंस्था तथा पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्