
कैलाली । चाडपर्व र घरायसी कामका लागि घर फर्किएका नेपालीहरू पुनः रोजगारीका खोजीमा भारततर्फ लाग्न थालेपछि त्रिनगर नाकामा आवागमनको चाप बढेको छ।
चाडपर्वसँगै खेतीपातीको काम सकिएपछि रोजगारीका लागि भारत जाने क्रम तीव्र बनेको हो। त्रिनगर नाकाहुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्।
त्रिनगर सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार पछिल्लो एक सातामा मात्रै तीन हजार ७०१ जना नेपाली भारततर्फ गएका छन्।
अछामको रामारोशन गाउँपालिका निवासी मङ्ल परियारले नेपालमा सहजै रोजगारी नपाइने र पाइहाले पनि कमाइले घरखर्च धान्न कठिन हुने बताए। “भारतमा रोजगारी सजिलै पाइन्छ र कमाएको रकम पनि एकमुष्ट देखिने भएकाले हामीजस्ता धेरै बेरोजगार भारत जान बाध्य भएका छौँ,” उनले भने।
त्यस्तै, सोही नाकाबाट मुम्बईतर्फ लागेका चुरे गाउँपालिकाका झलक साउदले घरका सबै काम सकेपछि पुनः रोजगारीका लागि भारत फर्किएको जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाका सर्वसाधारणहरू मुम्बई, दिल्ली, पिथौरागढ, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा रोजगारीका लागि जाने गरेको जनाइएको छ।





