ज्ञान संस्कार इन्टरनेशनल स्कूलद्वारा तृतीय अन्तरविद्यालय राष्ट्रिय स्केट च्याम्पियनसिप आयोजना



काठमाडौं । ज्ञान संस्कार इन्टरनेशनल स्कूल, सामाखुशी चोक, काठमाडौंले ‘तृतीय ज्ञान संस्कार इन्टरस्कूल नेशनल स्केट च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ। विद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता आगामी २०८२ साल पुस ०५ गते सञ्चालन हुनेछ।

वि.सं. २०७९ मा काठमाडौं उपत्यकाको टोखा नगरपालिकामा स्थापना भएको ज्ञान संस्कार इन्टरनेशनल स्कूलले जीवनोपयोगी संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। स्थापना कालदेखि नै शैक्षिकसँगै सह–पाठ्यक्रमगत गतिविधिलाई प्राथमिकता दिँदै आएको विद्यालयले जनाएको छ।

नेपाल सरकारको आधिकारिक खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषद् मातहत रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वयमा आयोजना हुने प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका ३०० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, सहभागी सबै खेलाडीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ।

विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले स्केटिङ पर्यावरणमैत्री खेल भएको उल्लेख गर्दै यसलाई भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत विकास गर्न सकिने बताइन्। स्केटिङले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याउने उनको भनाइ छ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालय तहमा स्केटिङ खेलप्रति रुचि र उत्साह अभिवृद्धि गर्नुका साथै नेपाली स्केटिङ खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका स्केटिङ प्रतियोगितामा सहभागी गराउने व्यवस्था पनि गरिएको छ।

प्रतियोगिताको उद्घाटन २०८२ साल पुस ०५ गते बिहान ९ बजे नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्ताले गर्ने कार्यक्रम तय भएको छ। प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन ज्ञान संस्कार इन्टरनेशनल स्कूलले गर्ने जनाएको छ। आयोजकले देशभरका विद्यालय, खेलाडी, खेलप्रेमी तथा सरोकारवाला निकायको सक्रिय सहभागिताबाट कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्