शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै



काठमाडौँ, पुस २
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ (Nepal Wood, Interior & Furniture International Expo) को दशौँ संस्करण आगामी पुस ४, ५ र ६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी सामग्री समेटिएको यस बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएका छन्।

फर्निचर, प्लाइउड तथा काष्ठ औजार उत्पादन गर्ने कम्पनी, ल्यामिनेट तथा विभिन्न कम्पनीका डिलर, सब–डिलर र विक्रेतामार्फत काठ व्यवसायसँग सम्बन्धित उत्पादन, सेवा तथा नयाँ–नयाँ प्रविधिबारे जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो प्रदर्शनी पछिल्लो एक दशकदेखि यस क्षेत्रको प्रवर्द्धनमा कोसेढुंगा सावित हुँदै आएको आयोजकको दाबी छ।

एघारौँ संस्करणका रूपमा आयोजना हुन लागेको यस प्रदर्शनीमार्फत विश्वभर ख्याति प्राप्त कम्पनी तथा ब्रान्डका अत्याधुनिक वस्तु र प्रविधि नेपाली बजारमा भित्र्याउने पहल गरिएको आयोजकले बताएका छन्। यसले साना देखि ठूला उद्योगसम्म प्रयोग भइरहेका मेसिन तथा प्रविधि उन्नयन गरी उत्पादनलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाका रूपमा रहेका छन्।

यस्तै, इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विभिन्न विषयमा दुईदिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि सञ्चालन गरिनेछ।

घर निर्माण तथा सजावटमा रुचि राख्ने सर्वसाधारणदेखि देशका ख्यातिप्राप्त आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्