विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मोरङको धनपालथान गाउँपालिका क्षेत्रमा मोटरसाइकलमार्फत लागूऔषध ब्राउन सुगर ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले मिति २०८१ पुस २९ गते धनपालथान गाउँपालिका–४ स्थित क्षेत्रमा प्रदेश २–०४–००१ प ६७५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको दायाँतर्फको इन्डिकेटरभित्र लुकाइ राखिएको अवस्थामा १३.३१ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। उक्त मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा सो घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू पनि संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध विराटनगर महानगरपालिका–१ का २७ वर्षीय राजा चौधरी, धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशाल कुमार सिंह, २७ वर्षीय रोशन मण्डल तथा २८ वर्षीय पास मण्डलको मिलेमतोमा ओसारपसार गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसैबीच, थप अनुसन्धानका लागि पुनः सोही मोटरसाइकलको इन्डिकेटरभित्र लुकाइ राखिएको अवस्थामा २.५० ग्राम थप ब्राउन सुगरजस्तो देखिने पदार्थ समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो।





