सुन्तला टिप्ने मौसमी रोजगारीका लागि धादिङका युवा म्याग्दीमा



म्याग्दी । सुन्तला टिप्ने मौसमी रोजगारीको खोजीमा धादिङका युवाहरू म्याग्दी आइपुगेका छन् । विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत उनीहरू पढाइ र घरखर्च व्यवस्थापनका लागि यहाँका सुन्तला बगैँचामा काम गरिरहेका छन् । मङ्सिर, पुस र माघ महिनामा म्याग्दीका बगैँचामा सुन्तला टिप्ने उनीहरू भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्ने काममा संलग्न हुने गर्छन् ।

धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका निवासी दिलीप घले झण्डै २० जनाको समूहसहित गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका हुन् । उनले सुन्तला टिप्ने कामले आफूहरूलाई मौसमी रोजगारी उपलब्ध गराएको बताए । “पढाइ र घरखर्च चलाउन आवश्यक पैसा जुटाउन सुन्तला टिप्न आएको हुँ,” उनले भने, “तीन महिना काम सकेपछि घर फर्किएर कक्षा ११ को पढाइलाई निरन्तरता दिने योजना छ ।”

म्याग्दीका सुन्तला बगैँचामा काम गर्न आउने मजदुरमध्ये अधिकांश धादिङ र गोरखाका रहेको बताइएको छ । जिल्लाभर करिब २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगारी पाएका छन् । यस याममा बगैँचामा फलिसकेको सुन्तला टिप्ने, छानोट (ग्रेडिङ) गर्ने र बजार पठाउने काममा किसान तथा मजदुरहरूलाई भ्याइनभ्याइ छ ।

सुन्तला टिप्ने मजदुरले खाना सहित मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् भने दैनिक ज्यालादारीमा काम गर्नेले ७०० देखि ८०० रुपैयाँसम्म पाउने गरेका छन् । बोटबाट सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, गाडीमा लोड तथा अनलोड गर्ने कामका लागि ठूलो संख्यामा मजदुर आवश्यक पर्ने गरेको बेनी–३ राखुकी भवीकला रानाले बताइन् । उनका अनुसार सुन्तलाखेती गर्ने किसानसँगै स्थानीय तथा अन्य जिल्लाका मजदुरलाई समेत रोजगारी मिलेको छ ।

गत वर्ष म्याग्दीबाट ३३ करोड रुपैयाँ बराबरको चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । कृषि विकास कार्यालयका अनुसार जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ, जसमा ४२५ हेक्टर क्षेत्रफलमा उत्पादनशील बगैँचा रहेका छन् । कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षकै हाराहारीमा सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिए ।

जिल्लाका राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङलगायत क्षेत्रमा २०० भन्दा बढी सुन्तला बगैँचा रहेका छन् । म्याग्दीबाट उत्पादित सुन्तला जिल्ला सदरमुकाम बेनीसँगै काठमाडौं, पोखरा, मुग्लिनलगायतका ठूला बजारमा बिक्री हुँदै आएको छ । यातायात सुविधा सहज भएकाले व्यापारीहरू गाडी लिएर बगैँचामै सुन्तला किन्न आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्