
मुस्ताङ। हिउँयामको कठोर चिसो मौसमका कारण बेसी झर्न नसकी गाउँमै बसोबास गरिरहेका माथिल्लो मुस्ताङका स्थानीय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। लोमान्थाङ गाउँपालिका–२ अन्तर्गत पर्ने सीमावर्ती नामासुङ र न्यानोल गाउँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ इलाका संरक्षण कार्यालय, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार हिउँयाममा अत्यधिक चिसोका कारण ज्वरो, रुघाखोकी, निमोनियालगायतका मौसमी रोगको जोखिम बढ्ने भएकाले गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो। “जाडो मौसममा बेसी झर्न कठिन हुने भएकाले स्थानीय नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै घरदैलोमै शिविर सञ्चालन गरेका हौँ,” उनले बताए।
शिविरमा एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट खटिएका एक–एक जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए। उक्त शिविरबाट नामासुङ र न्यानोल गाउँका १९ महिला र तीन पुरुष गरी २२ जना स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका एक्याप लोमान्थाङले जनाएको छ।
आवश्यकता अनुसार हिउँयामभरि नै यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यालय प्रमुख पौडेलले जानकारी दिए। स्थानीयवासीले घर नछाडी गाउँमै स्वास्थ्य सेवा पाउँदा सहज र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।





