१५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा



काठमाडौं, पुस १ गते ।
आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार आयोजना हुनेछ ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक दिवाकर महर्जनले सन् २००० मा सुरु भएको इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दोले २५ वर्षे यात्रा पूरा गरिसकेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले तेक्वान्दोमार्फत खेल भावना, आपसी मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन गर्दै आएको छ ।

आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करण आयोजना गर्ने अवसर नेपाललाई पुनः प्रदान गरेकोमा आइओएफटिसीप्रति आभार व्यक्त गर्नुभयो । आइओएफटिसीको मुख्य कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ र यसले प्रत्येक दुई वर्षमा च्याम्पियनसिप आयोजना गर्दै आएको छ । अहिलेसम्म पोर्टल्यान्डमा पाँच, नेपालमा चार, भारत, बेलायत, हङकङ, मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण सम्पन्न भइसकेका छन् ।

महासचिव गिरिबहादुर सुनारले नेपालमा हुने १५ औँ संस्करणलाई अझ भव्य बनाउने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना गरिनेछ, जसले नेपालको सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रवाह गर्नेछ ।

अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काका अनुसार नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बङ्गलादेशलगायत देशका करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्री सहभागी हुनेछन् ।

वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा क्योरुगी (फाइट) र पुम्से (फर्म) समावेश छन् । सिनियर, जुनियर र क्याडेट वर्गमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिएको छ । प्रतियोगितामा कुल २२२ स्वर्ण, २२२ रजत र ४४४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेतासहित उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कार प्रदान गरिनेछ । कुल पुरस्कार राशि ७ लाख २५ हजार रुपैयाँ रहेको छ ।

१६ औँ संस्करण अस्ट्रेलियामा

यो प्रतियोगिता सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको छनोट प्रतियोगिता पनि हो । उक्त संस्करण आयोजना गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकिएको छ ।

सो अवसरमा कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल आउनेछन् । प्रतियोगिताको पहिलो दिन उहाँको प्रशिक्षणमा पुम्से सेमिनार पनि आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्