राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री दुर्गाजयन्ती राई



खोटाङ । राजनीति गर्दैमा अन्य पेसा अपनाउन नहुने भन्ने मान्यता सही होइन। उल्टै राजनीतिलाई मात्रै पेसा बनाउँदा भ्रष्टाचार बढ्ने आलोचना भइरहेका बेला संविधानसभा सदस्य दुर्गाजयन्ती राईले राजनीतिसँगै कृषि व्यवसायलाई पनि समानान्तर रूपमा अघि बढाएकी छन्।

दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित राईले ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी छन्। स्थानीय किसानले उत्पादन गरेका मकै, फापर, कोदो, धान, तोरी, रायोको साग, राँगाको मासुलगायत सामग्री सङ्कलन गरी प्रशोधन गरेर बिक्री गर्दै आएकी हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्यसमेत रहेकी राईले विसं २०७६ सालमा जम्मा पाँच हजार रुपैयाँ लगानीबाट व्यवसाय सुरु गरेकी थिइन्। सुरुमा २५ केजी मकैको च्याँख्ला र दश प्याकेट गुन्द्रुक–सिन्कीबाट थालेको यो उद्यम अहिले विस्तार हुँदै मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडी, हरियो सागसब्जी तथा डालो र नाङ्लोजस्ता सामग्रीसम्म पुगेको छ।

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी राईका लागि सुरुवाती चरणमा व्यापारमा हात हाल्नु जोखिमपूर्ण थियो। कृषि उपजको बजार कति विस्तार होला भन्ने अन्योल भए पनि परम्परागत स्वाद खोज्ने उपभोक्ताको बढ्दो आकर्षणले उनको व्यवसायलाई गति दियो।

व्यवसाय विस्तारसँगै हाल उनका उत्पादन धरान, काठमाडौँ, हङकङ र सिङ्गापुरसम्म आपूर्ति हुँदै आएका छन् भने स्थानीय हाटबजारमा पनि नियमित बिक्री भइरहेको छ। विदेशमा रहेका नेपालीले परम्परागत खाद्यवस्तु मन पराउने भएकाले अन्तर्राष्ट्रिय मागले व्यवसाय विस्तारमा थप सहयोग पुगेको राई बताउँछिन्।

हेटौँडा महाधिवेशनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेता–कार्यकर्ता उत्पादन र उद्यममा जोडिनुपर्ने नीतिगत निर्णय गरेपछि आफूले यो उद्यमलाई दीर्घकालीन र व्यवस्थित रूपमा अघि बढाउने सोच बनाएको राईको भनाइ छ। शान्ति प्रक्रिया र गणतन्त्र स्थापना भएपछि पार्टी कामसँगै उत्पादनमूलक क्षेत्रमा लाग्ने वातावरण बनेको उनको बुझाइ छ।

‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीकै नीतिले आफूलाई थप प्रेरणा दिएको बताउँदै राई भन्छिन्, “किसान र उपभोक्तासँग नजिकिँदा सामाजिक चिन्तन बलियो हुन्छ। उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक प्रभाव पारेको छ।” उनका अनुसार राजनीति निःस्वार्थ हुनुपर्छ र राजनीतिमा संलग्न सबैले केही न केही उत्पादनमूलक काममा लाग्नुपर्छ।

प्रशोधन केन्द्र सञ्चालनको मुख्य चुनौती भने वर्षभरि कच्चा सामग्रीको निरन्तर आपूर्ति नहुनु रहेको राई बताउँछिन्। सिजनमा पर्याप्त सामग्री पाइए पनि अन्य समयमा अभाव हुने समस्या रहेको उनको भनाइ छ। पसलमा बिक्री हुने सबै सामग्रीमा लागत मूल्यमा २०–२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गरिने र उपभोक्तालाई सधैँ यथार्थ मूल्यमा सामग्री उपलब्ध गराउने उनले बताइन्।

स्थानीय उत्पादनमा आधारित यस्तो व्यवसायले रोजगारी सिर्जना, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने राईको धारणा छ। उनले राजनीति क्षेत्रमा रहेका अन्य व्यक्तित्वलाई पनि कृषि तथा स्थानीय उद्योगमा जोडिन आग्रह गरेकी छन्।

किसान र उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध स्थापित हुँदा सामाजिक र राजनीतिक यात्रा थप बलियो भएको बताउँदै राईले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहले कृषि क्षेत्रमा अनुदान र सहयोगमार्फत उत्पादन वृद्धि गर्न सके समग्र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने बताइन्।

दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षसमेत रहेकी दुर्गाजयन्ती राई विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपाल पार्टीबाट समानुपातिकतर्फ संविधानसभा सदस्य बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्