
काठमाडौं, मंसिर २८
युएईमा सम्पन्न आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्न सफल नेपाली मुक्केबाज चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भव्य स्वागत गरिएको छ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समिति सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्च अधिकारी, नेपाल बक्सिङ महासंघ तथा विभिन्न खेल संघका पदाधिकारी, खेलाडी र प्रशिक्षकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई स्वागत गरे।

डिसेम्बर ३ देखि १४ सम्म चलेको प्रतियोगिताको ५४ केजी तौलसमूहमा, राखेपको ‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए। उनले कांस्यसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरे। सेमिफाइनलमा भने उनी विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भए। विश्व बक्सिङमा पदक जित्ने चन्द्र हालसम्मका एक्ला नेपाली मुक्केबाज हुन्।
नेपालबाट प्रतियोगितामा ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दीपक श्रेष्ठ सहभागी थिए। लालप्रसाद क्वाटरफाइनलसम्म पुग्दै १० हजार अमेरिकी डलर जित्न सफल भए भने अन्य खेलाडी प्रारम्भिक चरणमै बाहिरिए। टोलीका प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगर रहेका थिए।
कार्यक्रममा सदस्य–सचिव मेहताले चन्द्रको ऐतिहासिक उपलब्धिले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको बताए। चन्द्रले सबैको साथ–सहयोगकै कारण सफलता सम्भव भएको भन्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाए। बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले सिंगो राष्ट्रको शान बढाएको बताए। कार्यक्रम सञ्चालन महासंघका सचिव पुष्करराज पन्तले गरेका थिए।

यसैबीच, दुबईमा सम्पन्न पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास–७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि आइतबार स्वागत गरिएको थियो।





