‘बिगुल’को धमाकेदार टिजर सार्वजनिक, जेन्जी आन्दोलन र समसामयिक राजनीति झल्किएको प्रस्तुति



काठमाडौं, २८ मंसिर ।
आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म **‘बिगुल’**को टिजर आइतबार सार्वजनिक गरिएको छ । सवा एक मिनेट लामो टिजरले फिल्मप्रति दर्शकको चासो थप बढाउने संकेत दिएको छ । यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरले चर्चा पाइसकेको अवस्थामा आएको टिजरमा देशको वर्तमान राजनीति, राष्ट्रप्रेम, सम्बन्ध र जिम्मेवारीसँगै जेन्जी आन्दोलनको झल्को प्रस्तुत गरिएको छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’का कथाकार तथा निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै प्रकारका विषयवस्तुमा आधारित फिल्महरू बढी आइरहेका बेला ‘बिगुल’ले भने राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जनलाई एकसाथ समेटेर कथा बुनेको निर्देशकको दाबी छ । दर्शकले फिल्ममार्फत मनोरञ्जनसँगै आफ्नो घर, समाज र देशमा भइरहेका गतिविधि तथा राजनीतिक अवस्थाबारे पनि सोच्न पाउने विश्वास निर्देशक कोइरालाले व्यक्त गरेका छन् ।

‘फिल्मलाई केवल मनोरञ्जनका रूपमा मात्र होइन, विचारका रूपमा पनि हेर्नुपर्छ भन्ने सोचका साथ ‘बिगुल’ निर्माण गरेका हौं,’ यसअघि मन मनमा, लीलानीरमाया निर्देशन गरिसकेका वरिष्ठ निर्देशक कोइराला भन्छन्, ‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार ‘बिगुल’मा उठाइएका मुख्य मुद्दा र अहिलेको जेन्जी पुस्ताले अघि सारेका माग, देश विकास र परिवर्तनप्रतिको चाहना आपसमा मेल खान्छन् । जेन्जी आन्दोलनप्रति समर्पित गरिएको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको ‘बिगुल’ कल्पना पौडेलको प्रस्तुति हो । फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायांकन रहेको फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत समावेश छ । सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् ।

सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्