बिपी उद्यान अतिक्रमण गरेर सञ्चालन हुँदै आएका पसल वीरगञ्ज महानगरद्वारा हटाइयो



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोक नजिकै रहेको बिपी उद्यान अतिक्रमण गरी अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित उद्यानभित्र रहेका फलफूल, तरकारी तथा अन्य अस्थायी पसल हटाइएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

उनका अनुसार घण्टाघर आसपासको बिपी उद्यानमा अव्यवस्थित रूपमा पसल सञ्चालन हुँदा सार्वजनिक स्थलको सौन्दर्यमा असर परेको थियो । त्यसलाई व्यवस्थित गरी पार्क निर्माण गर्ने योजनाअनुसार आज बिहान एक्जाभेटर प्रयोग गरेर अतिक्रमण हटाउने काम गरिएको हो । “यहाँ अव्यवस्थित बजार रहेकाले हटाउने काम गरिएको छ । व्यापारीहरूले आफ्ना सामान हटाइरहेका छन्,” प्रमुख सिंहले भने ।

बिपी उद्यान क्षेत्रमा अस्थायी घरटहरा, तरकारी, फलफूल, कपडा पसल तथा विभिन्न खानेकुराका स्टलसहित करिब २५० भन्दा बढीले व्यापार गर्दै आएका थिए । महानगरपालिकाले अब करिब ७० करोड रुपैयाँको लगानीमा यहाँ सुन्दर र हरियाली पार्क निर्माण गर्ने योजना अघि सारेको छ ।

उद्यानबाट हटाइएका व्यापारीहरूका लागि छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा आवश्यक संरचना तयार गरिएको जानकारी पनि महानगरले दिएको छ ।

आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्