
म्याग्दी । पर्वतको जलजला गाउँपालिका बीउ आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँगको समन्वयमा कम उत्पादन क्षमता भएका पुराना बीउ विस्थापित गर्दै गुणस्तरीय बीउ उत्पादन सुरु गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमतायुक्त पूर्वमूल बीउलाई पिबिएम प्रविधि (बियाँबाट आलुको बीउ उत्पादन) मार्फत उत्पादन गरी आत्मनिर्भरता हासिल गरिएको हो ।
उत्पादन क्षमता कम, गुणस्तर कमजोर र रोग–कीराको समस्या बढेपछि २०७९ सालदेखि जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो–१, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातका ५३ हजार २०० दाना आलु रोपेर पहिलो पुस्ताको बीउ उत्पादन सुरु गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
पिबिएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुने बताइन्छ । यसअघि जलजलाका किसानले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ प्रयोग गर्दा एक बोराबाट सातदेखि १० बोरासम्म मात्र उत्पादन हुने गरेकोमा नयाँ बीउ प्रयोगपछि एक बोराबाट २० बोरासम्म उत्पादन हुन थालेको किसानले बताएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार किसानले उत्पादन गरेको बीउ प्रतिकिलो रु ६५ मा खरिद गरी ५० प्रतिशत ढुवानी अनुदानसहित पोखराको चिस्यानगृहमा भण्डारण गरिन्छ । त्यसपछि प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई बीउ वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
अनुदानमा एक बोरा आलुको बीउ लिने किसानले कम्तीमा पाँच बोरा बीउ गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने सर्त रहेको छ । गाउँपालिकालाई आवश्यक परिमाण उपलब्ध गराएपछि बाँकी बीउ किसानले म्याग्दी, बागलुङ, कास्की र पर्वतका अन्य स्थानीय तहमा बिक्री गर्ने गरेका छन् । जलजला गाउँपालिकामा वार्षिक करिब एक हजार ८०० बोरा आलुको बीउ आवश्यक पर्ने जनाइएको छ ।
जलजलाका बनौ, तारे, शालिजा, लेकफाँट, धाइरिङको धाखेत र धारापानीमा बर्खे तथा सल्यान, नाग्लीवाङ र मल्लाज क्षेत्रमा हिउँदे आलुखेती हुँदै आएको छ । राम्रो मूल्य र सुनिश्चित बजारका कारण खानका साथै बीउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
जलजला–बाँसबोट कृषक समूहका सचिव कमलनयन आचार्यले ८० रोपनी खेत भाडामा लिएर १६ जना किसानले सामूहिक रूपमा बीउ उत्पादनका लागि आलुखेती सुरु गरेको जानकारी दिए । उनका अनुसार व्यक्तिगत रूपमा ५० बोरा र समूहगत रूपमा एक सय १५ बोरा आलु रोपिएको छ ।





