चितवनमा गाईभैँसीमा खोरेत रोग फैलिन थाल्यो



चितवन । चितवन जिल्लामा गाईभैँसीमा खोरेत रोगको समस्या देखिन थालेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा पालिएका गाईभैँसीमा उक्त रोगको लक्षण देखिएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ स्थित एक गाई फार्ममा खोरेत रोग पुष्टि भइसकेको छ । रत्ननगर क्षेत्रमा रहेका केही गाई फार्ममा पनि खोरेतको लक्षण देखिए तापनि प्रयोगशालाबाट अन्तिम नतिजा आउन बाँकी रहेको उनले बताए । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईभैँसीको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा पठाइएको र मङ्सिर १६ गते नतिजा प्राप्त भएको कार्यालयले जनाएको छ ।

डा. न्यौपानेका अनुसार हाल रोग देखिएका क्षेत्रहरूमा खोरेतविरुद्धको खोप लगाउने काम तीव्र रूपमा भइरहेको छ । “संक्रमण देखिएका क्षेत्रमा खोप लगाउने काम भइरहेको छ । अब जिल्लाभरि अभियान सञ्चालन गर्ने तयारी छ,” उनले भने ।

भाइरसबाट सर्ने खोरेत रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिनसम्म १०४ डिग्रीसम्म ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती पशुको गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ देखिने तथा दानापानी नखानेजस्ता लक्षण देखिने गर्छन् । यो रोग विशेषगरी गाईभैँसी र बङ्गुरमा बढी देखिने गरेको पशु सेवा कार्यालयले जनाएको छ ।

जिल्लाका अधिकांश पशुचौपायामा खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुका कारण रोग भित्रिन सक्ने आशंका गरिएको छ । कार्यालयले बाहिरबाट ल्याइएका पशुलाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर मात्र बथानमा मिसाउन तथा सङ्क्रमित पशुलाई अलग्गै राखेर उपचार गर्न आग्रह गरेको छ ।

जङ्गली जनावरबाट पनि खोरेत सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा जोखिम बढी रहने डा. न्यौपानेले बताए । “यसप्रति विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । प्रत्येक फार्ममा जैविक सुरक्षा विधि अपनाई वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन हामी आग्रह गर्छौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्