बेलढुङ्गा घरबासमा पाहुनाको आकर्षण बनेको ‘कोदोको सेलरोटी’



बागलुङ । पछिल्ला दिनमा बेलढुङ्गा सामुदायिक घरबास आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेमा अवस्थित यस घरबासमा पाहुना केवल आतिथ्यतामै होइन, स्थानीय स्वाद र परिकारमा पनि रमाइरहेका छन् ।

घरबास भ्रमणमा पुगेका सामाजिक व्यक्तित्व डा. सूर्य पाठकले यहाँको आतिथ्य संस्कार र परिकारको खुलेर प्रशंसा गरेका छन् । उनका अनुसार अन्य परिकारसँगै कोदोबाट बनेका परिकार पाहुनाको विशेष रोजाइमा परिरहेका छन् । आतिथ्यता, सांस्कृतिक प्रस्तुति र बिहानको खाजामा पस्किने कोदोका परिकारले आफूलाई थप आकर्षित गरेको उनले बताए ।

कोदोको ढिडो र रोटी पहिले नै चाखेको भए पनि कोदोबाट बनेको सेलरोटी पहिलोपटक यहीँ खान पाउँदा निकै खुसी लागेको डा. पाठकले सुनाए । “धेरै ठाउँका घरबासमा खानाका परिकार चाखिएको छ, तर कोदोको सेलरोटी भने बेलढुङ्गामै पहिलोपटक देख्न र खान पाइयो,” उनले भने, “घरबास सफल हुन खानाका परिकार, संस्कार, संस्कृति र प्रकृतिको सुन्दर संयोजन आवश्यक हुन्छ, जुन बेलढुङ्गामा अनुभूत भयो । यहाँको आतिथ्य र आँखैअगाडि देखिने हिमालले मन लोभ्यायो ।”

डा. पाठक मात्रै होइन, कहिलेकाहीँ ‘गरिबको खान्की’ भनेर चिनिँदै आएको कोदोका परिकार अहिले बेलढुङ्गा सामुदायिक घरबासमा आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन् । यहाँ कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँगै लोकल कुखुरा र खसीको मासु तथा भाँगो हालिएको आलुको अचार मुख्य परिकारका रूपमा पस्किन्छन् ।

ढिडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार र आलुको रोटीजस्ता परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्दै आएको छ । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागतदेखि सांस्कृतिक कार्यक्रमको व्यवस्थासम्म गर्दै आएको छ ।

आमा समूहकी अध्यक्ष माया घर्तीका अनुसार सभाहलमा पाहुनालाई स्वागत गर्दै साँझ सांस्कृतिक कार्यक्रमसहित सत्कार गरिन्छ । “राति सांस्कृतिक कार्यक्रमसहित पाहुनाको सत्कार गर्छौं । बिहान पाहुनाले बेलढुङ्गाबाट सूर्योदय र हिमाल अवलोकन गर्न पाउँछन्,” उनले भनिन् । हाल यहाँ चितवन, पोखरा, म्याग्दी, पर्वत र बागलुङलगायत स्थानबाट पाहुना आउने गरेका छन् ।

काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको सिमानामा अवस्थित बेलढुङ्गा दुई हजार ६१४ मिटर उचाइमा रहेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच विस्तारसँगै पर्यटक आगमन बढेको छ, जसको प्रत्यक्ष लाभ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासले लिइरहेको छ ।

विसं २०७५ मा स्थापना भएको यस सामुदायिक घरबास हाल १० घरमा सञ्चालनमा छ, जहाँ एकै रातमा ३० जनासम्म पाहुना राख्न सकिन्छ । घरबास सञ्चालक गोपाल श्रीसका अनुसार यहाँ आयातित खाद्य सामग्री प्रयोग नगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ ।

“गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, सागसब्जी र फापरको व्यावसायीकरण गर्दै गाउँलाई ‘अग्र्यानिक भिलेज’का रूपमा विकास गर्ने योजना छ,” उनले भने, “रासायनिक मल निषेध भएकाले जैविक कृषि उपजबाटै पाहुनालाई स्वागत गर्न सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्