धान उत्पादन घट्दा मूल्यमा समेत गिरावट



मोरङ । बेमौसमी वर्षाका कारण मोरङ जिल्लामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । धान उत्पादनका हिसाबले देशमै अग्रणी मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान कम उत्पादन भएको हो ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिकको दोस्रो सातामा परेको बेमौसमी वर्षाले पाकेको धानमा क्षति पुर्‍याउँदा समग्र उत्पादन घटेको हो । उनका अनुसार गत वर्ष जिल्लामा तीन लाख ३९ हजार ३ दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन मात्र उत्पादन भएको छ । प्रतिहेक्टर उत्पादन पनि घटेर गत वर्ष चार दशमलव ८८ मेट्रिक टन रहेकामा यस वर्ष चार दशमलव ८५ मेट्रिक टनमा सीमित भएको छ । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ ।

कृषिविज्ञ राजेन्द्र उप्रेतीले खेतीयोग्य जमिन आसपासका खोलानाला मासिँदै जानु र पानीको उचित निकास नहुनु पनि उत्पादन घट्नुको प्रमुख कारण हुनसक्ने बताए । “धान राम्रोसँग पाकिसकेपछि थन्क्याउने समयमा परेको बेमौसमी वर्षाले बढी क्षति पुर्‍याएको देखिन्छ,” उनले भने ।

बेलबारी–११ भाङबारीका किसान वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमध्ये करिब ९० मन धान बेमौसमी वर्षाले नोक्सान भएको बताए । उत्पादनमा क्षति हुनुका साथै बजार मूल्यसमेत घटेकाले किसान थप चिन्तित भएको उनको भनाइ छ ।

उनका अनुसार यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्ममा सीमित छ । जबकि गत वर्ष मङ्सिर महिनामा प्रतिमन एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँसम्म कारोबार भएको थियो । उत्पादन र मूल्य दुवै घटेपछि किसानको आम्दानीमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्