
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।
उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको एकता र आत्मविश्वास नै सफलताको मुख्य आधार बनेको बताए । उनले भने, “सुरुदेखि नै उपाधि जित्ने विश्वास थियो । सबै खेलाडी एकजुट भएर खेलेँ र त्यसकै परिणामस्वरूप च्याम्पियन बन्न सफल भयौँ ।”
लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान पौडेल प्लेअर अफ दी टुर्नामेन्ट घोषित हुँदै कार प्राप्त गर्न सफल भए । उनले प्रतियोगिताभर अलराउन्ड प्रदर्शन गर्दै ब्याटिङतर्फ २७६ रन बनाएका थिए, जसमा उनी दोस्रो स्थानमा रहे । बलिङतर्फ उनले १० विकेटसमेत लिए । साथै, रोहित उत्कृष्ट ब्याटर घोषित भए भने इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्टको उपाधि जित्दै पल्सर बाइक प्राप्त गरे ।
यता, लगातार दोस्रोपटक उपविजेतामै सीमित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले फाइनलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रतियोगिताभरको मेहनत खेर गएको बताए । “एक महिनासम्म उपाधि जित्ने लक्ष्यसहित कडा मेहनत गरेका थियौँ, तर फाइनलमा चुक्दा सबै प्रयास व्यर्थ भयो,” उनले भने ।
हारको मुख्य कारण कमजोर ब्याटिङ रहेको प्रशिक्षक टमटाको भनाइ छ । “टस जितेर ब्याटिङ रोज्यौँ तर अपेक्षित स्कोर बनाउन सकेनौँ । त्यसले गर्दा विपक्षी टोलीले सहजै लक्ष्य भेट्टायो । आज हाम्रो दिन रहेन,” उनले प्रतिक्रिया दिए ।





