रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता सम्पन्न



रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक आयोजना गरिएको इन्डोर स्केटिङ प्रतियोगितामा सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बनेका छन् । सो विधामा नबिन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो स्थानमा रहे । सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो भएकी छन् ।
सिनियर समूहका विजेताले क्रमशः १० हजार, ७ हजार पाँच सय र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

जुनियर पुरुषतर्फ क्रिश विक्रमले उपाधि जित्दा जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भए । जुनियर महिलातर्फ युनिका बी.के. विजेता, आयुष्मा रोका दोस्रो र सुईसान्मी रोका तेस्रो स्थानमा रहिन् । जुनियर समूहका विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्केटिङ खेलको विकास, प्रवर्द्धन तथा व्यवसायीकरणका लागि नेपालमा यस्ता प्रतियोगिता आवश्यक रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्