दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन



काठमाडौं, मंसिर २७ । शिव बाबा स्कुलले दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेको छ ।

ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न एकदिने प्रतियोगितामा १८ विद्यालयलाई पछि पार्दै शिव बाबा स्कुल च्याम्पियन बनेको हो । काठमाडौँको खुसिबुस्थित ह्वाइटफिल्ड स्कुलमा आयोजित प्रतियोगितामा शिव बाबाले सर्वाधिक १६ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गर्‍यो । उसले ६ रजत र ११ कांस्य पदक पनि आफ्नो पोल्टामा पारेको थियो ।

जेसिस इन्टरनेसनल बोर्डिङ स्कुल १४ स्वर्ण, ११ रजत र १२ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो । आयोजक ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले ११ स्वर्ण, १३ रजत र ७ कांस्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्‍यो ।

प्रतियोगितामा कुल १९ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । विजेता खेलाडी तथा टोलीलाई ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा उनले यस्ता प्रतियोगिताले तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले रेफ्री अस्मिता खड्कालाई खेल सामग्री हस्तान्तरण गर्दै गरेका थिए ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीलाई ट्रफी प्रदान गरिएको थियो । ग्योरोगी (फाइट) तर्फ किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर चारै विधामा उत्कृष्ट फाइटरले ट्रफी प्राप्त गरेका छन् । ग्योरोगी र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा भएको ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकतर्फ तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको थियो ।

ग्योरोगी विधामा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर समूहअन्तर्गत गल्र्स र ब्वाइज गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्