
झापा । सुशासन र प्रणालीगत परिवर्तनलाई मुख्य लक्ष्य बनाउँदै राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा शनिबार दमकस्थित आदिवासी रङ्गशालाबाट गरिएको छ। जेनजी आन्दोलनसँग जोडिएका घाइते, शहीद परिवार र युवा पुस्ताको सहभागितामा आयोजित घोषणा सभामा पार्टी अध्यक्ष राजेश पोर्तेलले वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याए।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा सुशासनको गम्भीर अभावका कारण युवाहरू स्वयं राजनीतिमा आउन बाध्य भएको बताए। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कारबाही नहुँदा राज्य व्यवस्था कमजोर बनेको र त्यसैको परिणामस्वरूप जेनजी आन्दोलनको उदय भएको उनको भनाइ थियो। जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले आफू असली घाइते जेनजी भएको उल्लेख गर्दै सक्कली जेनजीको भावना माथि खेलवाड गरिएको आरोप लगाए। उनले नक्कली जेनजीहरू हावी हुँदा वास्तविक जेनजीहरू ओझेलमा परेको दाबी गरे।

अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरूमाथि कानुनी कारबाही गर्न वर्तमान सरकार असक्षम रहेको आरोप लगाउँदै पीडितहरूलाई न्याय दिलाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताए। उनले राष्ट्रिय परिवर्तन पार्टीले सुशासन, जवाफदेहिता र परिवर्तनलाई आफ्नो मूल कार्यदिशा बनाउने स्पष्ट पारे।
सभामा जेनजी शहीद श्रेयम चौलागाईँका पिता गणेशप्रसाद चौलागाईँले वर्तमान सरकारले जेनजी आन्दोलनको भावना विपरीत गतिविधिलाई प्रोत्साहन दिएको आरोप लगाए। उनले सुशीला कार्की नेतृत्वको सरकारले प्रभावकारी रूपमा काम गर्न नसके जिम्मेवारीबाट अलग हुनुपर्ने सुझावसमेत दिए।
त्यस्तै, जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिँदै ठूलो संख्यामा उपस्थित युवाहरूलाई सम्बोधन गरे। उनले देशप्रतिको माया र चिन्ताका कारण सानै उमेरमा राजनीतिमा होमिनु परेको उल्लेख गर्दै देशलाई दुरदर्शी नेतृत्वको खाँचो रहेको बताए। भ्रष्टाचारका कारण मुलुक थिलोथिलो बनेको भन्दै अब राष्ट्रिय परिवर्तन पार्टीको उदयसँगै राष्ट्रिय राजनीतिमा नयाँ प्रभाव पर्ने दाबी गरे।
जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ताको साझा पहलमा गठन भएको राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जेनजी युनाइटेड समूहका सदस्यहरू पार्टीमा समाहित भएसँगै पार्टीको औपचारिक राजनीतिक यात्रा सुरु गरिएको आयोजकले जनाएको छ।





