एलएनए र एन्जल्स हार्ट सेमिफाइनलमा प्रवेश



काठमाडौँ, मंसिर २७ गते ।
लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्ट १९औँ भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा शनिबार भएको खेलमा एलएनएले पारामाउन्ट एकेडेमीलाई ३१–२३ ले पराजित गर्‍यो । एलएनएका अन्वेश पुलामीले ९ अंक जोडे । अर्को खेलमा एन्जल्स हार्टले न्युटनलाई ३५–२६ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्‍यो । एन्जल्स हार्टका रेहान क्षेत्रीले ८ अंक बनाए ।

जुनियर ब्वाइजमै गोल्डेनपिकले ग्रिनफिल्डलाई ३५–२५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । गोल्डेनपिकका अग्रज राईले सर्वाधिक ११ अंक जोडे ।

सिनियर ब्वाइजतर्फ न्युटनले बागमतीलाई ५४–३९, आयोजक भ्याली पब्लिकले क्यान्भासलाई ४८–३५, टीआईएले जेबी स्कुललाई ५२–४२ तथा हेम्सले जिनियस वर्ल्डलाई ४४–३२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । न्युटनका उज्ज्वल श्रेष्ठले २१, भ्याली पब्लिकका अशोक विकले १८, टीआईएका रोशन नगरकोटीले १३ र हेम्सका जोनस शाहले १५ अंक जोडे ।

सिनियर गर्ल्सतर्फ केभीकेएसएसले त्रिज्योतिलाई १६–६, फेरिल्यान्डले साम्तेनलाई ३९–२८, भ्याली पब्लिक ‘ए’ ले बागमतीलाई ४१–३२ तथा न्युटनले भ्याली पब्लिक ‘बी’ लाई ३१–२२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । केभीकेएसएसकी रोजी श्रेष्ठले ७, फेरिल्यान्डकी सन्दिपा राईले १५, भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले १९ र न्युटनकी इरिनी राणाले ९ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्