
काठमाडौँ, मङ्सिर २३ गते । केभिआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन प्रथम हुनुभएको छ । युगल यसअघि सम्पन्न दोस्रो चरणमा तेस्रो स्थानमा रहनुभएको थियो ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार सम्पन्न २५ किलोमिटरको प्रतिस्पर्धामा पुरुषतर्फ युगलले दुई घन्टा ५७ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दै शीर्ष स्थान हात पार्नुभयो । नेपालका हरेन्द्र के. चौधरी दोस्रो र दीपक तामाङ तेस्रो भए । हरेन्द्रले तीन घन्टा सात मिनेट ४३ सेकेन्ड र दीपकले तीन घन्टा २१ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्नुभयो ।
महिलातर्फ सान्या मार्टिनले तीन घन्टा ३९ मिनेट २४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । स्टेन हेजलवर्ग दोस्रो र सोफी स्टाइनर तेस्रो स्थानमा रहनुभयो ।

१० किलोमिटर दौडतर्फ पुरुषमा सलमान शेखले एक घन्टा १८ मिनेट ४८ सेकेन्डमा पहिलो स्थान जित्नुभयो । पेम्बा छिरिङ लामा (एक घन्टा २२ मिनेट ५२ सेकेन्ड) दोस्रो र पुस्कर धामी (एक घन्टा ३१ मिनेट २२ सेकेन्ड) तेस्रो भए । महिलातर्फ सितु लामाले एक घन्टा ४० मिनेट ३५ सेकेन्डमा पहिलो स्थान हात पार्नुभयो । क्लारा बर्गगारेन (एक घन्टा ४६ मिनेट ४९ सेकेन्ड) दोस्रो र कामाल्या लि (दुई घन्टा एक मिनेट २५ सेकेन्ड) तेस्रो भइन् ।
२५ किलोमिटरको दौड गोदावरी–फुल्चोकी–मनकामना दोबाटो–बदीखेल हुँदै गोदावरीस्थित सूर्यचौरमा सम्पन्न भएको थियो । १० किलोमिटरको दौड पनि गोदावरी–मनकामना दोबाटो–बदीखेल हुँदै सूर्यचौरमै सम्पन्न भयो ।
प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत र क्यानाडाबाट करिब १०० जना धावक–धाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गर्नुभयो ।





