जेनजी आन्दोलनको म्यान्डेटअनुसार काम गर्ने प्रतिबद्धता : मन्त्री चौलागाईँ



काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको मर्म, भावना र म्यान्डेटअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयमा पदबहालीका क्रममा आज उनले जेनजी आन्दोलनको भावनालाई व्यवहारमा उतार्न मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन कार्यान्वयन गर्ने निर्णय आफूले पहिलो प्राथमिकताका रूपमा गरेको जानकारी दिए।

मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन हुने गरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईँले हालै स्थापना गरिएको कर्णाली प्रदेशको कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्ज प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्यालय तत्काल व्यवस्थापन गर्नुपर्ने बताए।

उनले परिवर्तनलाई संस्थागत गर्न सरकारका प्रयासमा सबै पक्षको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गरे। वर्तमान सरकार छोटो समयका लागि निर्वाचनको मुख्य जिम्मेवारी पूरा गर्ने म्यान्डेटसहित गठन भएको भए पनि जेनजी आन्दोलनका माग सम्बोधन गर्दै त्यसको भावनाअनुसार काम गर्दै आएको उनको भनाइ थियो।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै नियुक्त भएका मन्त्री चौलागाईँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा पदबहाली गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्