
खोटाङ । यस वर्ष खोटाङ जिल्लामा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका छन् । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार प्रतिकिलो सरदर रु १०० का दरले सुन्तला बिक्री हुँदा यस वर्ष करिब रु ३४ करोड १० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
केन्द्रका अर्थविज्ञ दीपक चौहानका अनुसार सबैभन्दा बढी सुन्तला उत्पादन जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएको छ । “जन्तेढुङ्गा गाउँपालिकाबाट मात्रै रु चार करोड ५० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ,” उनले भने, “कृषक आफैँले बजार पुर्याएर बिक्री गर्दा प्रतिकिलो रु १३० सम्म पर्छ भने व्यापारीले उपभोक्तालाई प्रतिकिलो रु १५० सम्ममा बिक्री गरिरहेका छन्।”
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला खेती क्षेत्र १५ हेक्टरले घटेको छ । गत वर्ष ९९५ हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा यस वर्ष विभिन्न रोगको सङ्क्रमणका कारण ९८० हेक्टरमा मात्रै सुन्तला खेती भएको हो ।
जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका व्यवसायिक कृषक जगत किरातीले यस वर्ष सुन्तलाबाट रु सात लाख आम्दानी गरेका छन् । “यातायातको सुविधा पुगेकाले यस वर्ष बगानबाटै सुन्तला बिक्री गर्न सकियो,” उनले भने, “खेती विस्तार गरिरहेको छु, आगामी वर्ष आम्दानी अझै बढ्ने अपेक्षा छ।” किरातीले २५० वटा बोटमा फलेका सुन्तला बेचेर मङ्सिर महिनामै रु सात लाख आम्दानी गरेको बताए । दिप्लुङका अन्य कृषकले पनि सुन्तला बिक्रीबाट लाखौँ आम्दानी गरिरहेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाका घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा र कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बुढापाकाले घरायसी उपभोगका लागि रोपेका सुन्तलाका बगान यातायातको पहुँचसँगै आम्दानीको मुख्य स्रोत बन्दै गएको कृषकहरूको भनाइ छ ।
जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले गाउँका कृषकले यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईका अनुसार घोर्लेमा ३१ परिवारको बसोबास छ र सबैका घरमा सुन्तलाका बगान छन् । “यहाँका प्रत्येक परिवारले हरेक वर्ष कम्तीमा रु तीन लाखभन्दा बढीको सुन्तला बिक्री गर्छन्,” उनले भनिन्, “पहिले खानका लागि रोपिएका सुन्तला अहिले आम्दानीको भरपर्दो स्रोत बनेका छन् । यसको प्रवर्द्धनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ।”
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका कृषक रामबहादुर कुँवरले यस वर्ष सुन्तलाबाट कम्तीमा रु १२ लाख आम्दानी हुने अनुमान गरेका छन् । गत वर्ष रु नौ लाख आम्दानी भएको र यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उनको भनाइ छ ।
खोटेहाङ गाउँपालिकाका किसानले पनि सुन्तला बिक्रीबाट बर्सेनि लाखौँ आम्दानी गर्दै आएका छन् । वडा नम्बर ६ इन्द्रेणी पोखरीका युवा कृषक इन्द्र नारथुङेका अनुसार गाउँपालिकामध्ये सबैभन्दा ठूलो खोटेहाङमा यस वर्ष गत वर्षको तुलनामा उत्पादन केही घटेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष रावाबेँसी गाउँपालिकामा पनि सुन्तलाको उत्पादन घटेको छ । ‘सुन्तलाको राजधानी’का रूपमा चिनिने रावाबेँसी–३ लामीडाँडामा रोग र सङ्क्रमणका कारण क्षति पुगेको अर्थविज्ञ चौहानले जानकारी दिए ।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङका कृषकले उत्पादन गरेका सुन्तला यस वर्ष बगानबाटै बिक्री भएका छन् । स्थानीय शुभचन्द्र राईका अनुसार खार्मीमा उत्पादित सुन्तला सालपा कृषि कम्पनी खोटाङले प्रतिकिलो रु ६० का दरले खरिद गरेको छ ।





