अमेरिकाद्वारा भेनेजुएलाली नागरिकको देशनिकाला उडान रद्द



काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउने उद्देश्यले शुक्रबारका लागि तय गरिएको ‘डिपोर्टेसन’ उडान रद्द गरेको भेनेजुएलाले जनाएको छ।

दुई देशबीच तनाव थप चर्किन सक्ने आशंकालाई मध्यनजर गर्दै अमेरिकाले उक्त उडान स्थगित गरेको बताइएको छ। भेनेजुएलाको गृह मन्त्रालयले बिहीबार टेलिग्राममार्फत जानकारी दिँदै भेनेजुएलाली नागरिकको फिर्तीसम्बन्धी उडानलाई अमेरिकी सरकारले ‘एकतर्फी रूपमा स्थगित’ गर्ने निर्णय गरेको सूचना शुक्रबार प्राप्त भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले महिनौँदेखि भेनेजुएलामाथि दबाब बढाउँदै आएको सन्दर्भमा उडान रद्द भएको हो। यस अवधिमा अमेरिकाले भेनेजुएलाको क्षेत्र आसपास ठूलो मात्रामा नौसैनिक गतिविधि बढाएको, कथित लागूऔषध तस्करीमा संलग्न डुङ्गामाथि आक्रमण गरेको र ती कारबाहीका क्रममा करिब ९० जनाको ज्यान गएको बताइएको छ।

यसैबीच, वासिङ्टनले भेनेजुएलाको तट नजिकैबाट एक तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो। साथै, बिहीबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका आफन्तहरू तथा उक्त देशको तेल ढुवानीमा संलग्न छ वटा कम्पनीविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको छ।

उडान रद्दसम्बन्धी विषयमा प्रतिक्रिया लिन अमेरिकाको गृह मन्त्रालय र अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन कार्यालय (आइस) लाई पठाइएको इमेलको तत्काल जवाफ आएको छैन।

प्रतिक्रिया दिनुहोस्