एनपीएल फाइनल : नयाँ च्याम्पियनको खोजीमा सुदूरपश्चिम र लुम्बिनी



काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनलसँगै एनपीएलले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

साविक विजेता प्रतियोगिताबाट बाहिरिसकेकाले यस पटक नयाँ टोलीले उपाधि जित्नेछ । सुदूरपश्चिम र लुम्बिनी दुवै टोली इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रँदैछन् ।

लुम्बिनीको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन् ।

लिग चरणको प्रदर्शन र साविक उपविजेता भएकाले सुदूरपश्चिम रोयल्स लुम्बिनीभन्दा केही बलियो देखिएको छ । रोयल्सले लिग चरणका सातमध्ये चार खेल जित्दै पहिलो क्वालिफायर खेल्दै फाइनल यात्रा तय गरेको हो । गत संस्करणको फाइनलमा रोयल्स जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

लुम्बिनी लायन्सले भने लिग चरणका सातमध्ये चार खेल जित्दै इलिमिनेटर र दोस्रो क्वालिफायर पार गर्दै फाइनलमा स्थान बनाएको हो । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यस पटक उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ ।

यस सिजनमा यी दुई टोलीबीच एकपटक मात्रै भेट भएको छ, जसमा सुदूरपश्चिमले सात विकेटको जित निकालेको थियो । गत संस्करणमा पनि दुवै टोली एकपटक भिड्दा लुम्बिनी ४५ रनले पराजित भएको थियो । तेस्रो भेट फाइनल भएकाले दुवैका लागि अत्यन्तै निर्णायक हुनेछ ।

सुदूरपश्चिमका कप्तान ऐरीले यस पटक उपाधि जित्ने लक्ष्यसहित तयारी पूरा भएको बताएका छन् । उनले भने, “गत वर्ष फाइनलमा चुकेका थियौँ । सबै कमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रन्छौँ।”

लुम्बिनीका कप्तान पौडेलले पनि टोली पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, “हामी पछिल्ला पाँच खेल लगातार जित्दै फाइनलमा पुगेका छौँ । अब हाम्रो पूरा ध्यान ट्रफी जित्नेमै केन्द्रित छ।”

सुदूरपश्चिम रोयल्सका प्रमुख खेलाडी

रोयल्सका बलर अभिनाश बोहरा जारी सिजनमा सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । आठ खेलमा १६ विकेट लिँदै उनी सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । ‘डेथ ओभर स्पेसलिस्ट’ का रूपमा चिनिने बोहराले निर्णायक क्षणमा खेल पल्टाउने क्षमता राख्छन् ।

विदेशी अलराउन्डर हर्मित सिंह पनि रोयल्सका लागि लयमा छन् । उनले बलिङमा १२ विकेट लिनुका साथै ब्याटिङबाट एक अर्धशतकसहित १२३ रन बनाएका छन् । एक खेलमा उनी प्लेयर अफ द म्याचसमेत घोषित भएका थिए ।

ओपनर ब्याटर विनोद भण्डारी रोयल्सको फाइनल यात्रामा महत्वपूर्ण पात्र बनेका छन् । उनी आठ खेलबाट २६४ रनसहित सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । दुई अर्धशतकसहित उनी दुईपटक प्लेयर अफ द म्याच बनेका छन् ।

कप्तान ऐरी आफैं पनि बहुआयामिक खेलाडी हुन् । उनले बलिङमा आठ विकेट र ब्याटिङमा १४९ रन बनाएका छन् । विदेशी बलर स्कट कुग्गेलेइजनले पनि ओपनिङ बलरका रूपमा १० विकेट लिँदै प्रभाव जमाएका छन् ।

लुम्बिनी लायन्सका प्रमुख खेलाडी

लुम्बिनीका कप्तान रोहित पौडेल टोलीका सबैभन्दा लयमा रहेका खेलाडी हुन् । नौ खेलबाट २६० रन बनाउँदै उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । उनी दुई खेलमा प्लेयर अफ द म्याचसमेत बनेका छन् ।

विदेशी ब्याटर डार्सी सर्ट पनि लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुन् । उनले नौ खेलबाट २४२ रन बनाउँदै एक अर्धशतक समेत प्रहार गरेका छन् ।

युवा बलर शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई फाइनल पुर्‍याउन निर्णायक योगदान दिएका छन् । नौ खेलमा १४ विकेट लिँदै उनी सर्वाधिक विकेटकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । दुई खेलमा उनी म्याच विनर बन्दै प्लेयर अफ द म्याचसमेत बनेका छन् ।

रुबेल ट्रम्पेलम्यानले नौ खेलमा १२ विकेट लिँदै बलिङमा निरन्तर प्रभाव देखाएका छन् । उनले ब्याटिङबाट पनि ६५ रन जोडिसकेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । एनपीएल विजेताले रु १ करोड १० लाख पुरस्कार पाउनेछ भने उपविजेताले रु ५१ लाख, तेस्रो हुने टोलीले रु २५ लाख र चौथो हुने टोलीले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्