बुढीगण्डकी आयोजना अघि बढाउन प्रदेश सरकारको पहल जारी : मुख्यमन्त्री पाण्डे



गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन प्रदेश सरकारको तर्फबाट निरन्तर पहल भइरहेको बताएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर माध्यमिक विद्यालयको शुक्रबार सम्पन्न स्वर्ण जयन्ती उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विभिन्न कारणले लामो समयदेखि रोकिएको आयोजना अब ढिलाइ नगरी अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले गोरखा र धादिङको सिमानामा निर्माण हुने बुढीगण्डकी आयोजनाले जलविद्युत् क्षेत्रको विकाससँगै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुर्‍याउने भएकाले यसको निरन्तरता अत्यावश्यक रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री पाण्डेले आयोजना शीघ्र सम्पन्न गराउन संघ सरकारलाई दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बाग्मती प्रदेश सरकारबीच संयुक्त बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । स्थानीय तहका जनप्रतिनिधिलाई समेत सहभागी गराई करिडोर क्षेत्रमा नै बैठक गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

“आयोजना निर्माण जसरी भए पनि छिटो सम्पन्न गर्नुपर्छ,” उनले भने, “त्यसका लागि दुवै प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गर्दै अघि बढ्ने तयारी भइरहेको छ ।”

आयोजना निर्माणसम्बन्धी अन्योलता हटाउन पटक–पटक पहल भए पनि त्यसलाई अझै मूर्तरूप दिन नसकिएको स्वीकार गर्दै मुख्यमन्त्री पाण्डेले सकारात्मक सोच र सामूहिक प्रयासबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने बताए ।

देशमा केही पनि भएन भन्ने नकारात्मक भाष्य सिर्जना गरेर मात्र राष्ट्र निर्माण सम्भव नहुने उल्लेख गर्दै उनले भ्रष्टाचार र लुटपाटको आरोप लगाएर मात्र वास्तविकता नबुझिने धारणा राखे । “नकारात्मक सोच र भावनाले देश बन्दैन,” उनले भने, “सबैको साझा प्रयासले मात्र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्